उद्योगको प्रदूषित पानीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ मा उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको छ ।
जीतपुरसिमरा-३ स्थित गणपति र नन्दन उद्योगको प्रदुषित पानीले बालकको मृत्यु भएपछि मृतकका आमा अञ्जु मुखियासहित आक्रोशित स्थानीयले शनिबार उद्योगको गेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका छन् ।
प्रदर्शन पछि उद्योग प्रशासनले ६ लाख २५ हजार क्षतिपुर्ति र एक परिवारलाई रोजगारी दिने सहमति भएपछि साझ दाहसंस्कार गरेका छन् ।
सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर शुक्रबार बालकको मृत्यु भएको थियो । उक्त कुलोमा गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टील लगायतका उद्योगबाट प्रशोधन नगरी निस्कने रसायन युक्त प्रदूषित पानी बग्ने गरेको छ ।
शल्य परीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयले उद्योगको लापरवाहीले बालकको ज्यान गएको भन्दै क्षतिपूर्ति र दोषी उद्योगमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले उद्योग अगाडि पीडित परिवार र स्थानीय प्रदर्शनमा बसेको र पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच सहमति भएको बताउनु भएको छ ।
स्थानीय सरकारले पटकपटक कारबाही गरे पनि अटेर गर्दै आएको उद्योगका कारण बस्तीका नागरिक प्रभावित बनेका छन् भने प्रदूषित पानीका कारण वातावरणमा समेत गम्भीर असर परिरहेको छ । घटनापछि स्थानीयमा आक्रोश र चिन्ता बढेको छ ।
घटनापछि जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबार नै उद्योगले प्रदूषित पानी छोड्ने स्थानमा डोजर लगाएर हयुमपाइप हटाउँदै खाल्डो पुरेको छ ।
यसअघि पनि नगरपालिकाले उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो । तर उद्योगले पुनः ह्युमपाइप जडान गरी प्रशोधन नगरी प्रदूषित पानी छोड्दै आएको स्थानीयले गुनासो गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्