नेपालमा पौष्टिक चामल आपूर्ति प्रणाली सुधार गर्न भारतको नयाँ सहयोगी परियोजना सुरु

काठमाडौँ – भारत सरकारले संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै नेपालमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु गरेको छ। यो परियोजना भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत अघि बढाइएको भारतीय दुतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
साउन १६ गते नयाँ दिल्लीमा शुभारम्भ गरिएको उक्त पहलले नेपालको सार्वजनिक खाद्य आपूर्ति प्रणालीलाई सुदृढ गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन तथा सरोकारवालाको संलग्नता रहनेछ। दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र भारतीय विशेषज्ञहरूसँगको अन्तरक्रिया तथा अध्ययन भ्रमण समावेश हुनेछ। अन्तिम चरणमा दीर्घकालीन कार्य योजना निर्माण गरिनेछ।
यस परियोजनाको प्रशिक्षण पक्ष भारतको आइटेक कार्यक्रममार्फत सञ्चालन हुनेछ। दूतावासका अनुसार सन् २००१ यता ३ हजारभन्दा बढी नेपाली अधिकारीहरूले आइटेक अन्तर्गत भारतमा तालिम लिइसकेका छन्।
नेपालमा भारतको सफल सार्वजनिक वितरण प्रणालीको अनुभवबाट सिक्दै चामल आपूर्ति शृङ्खलामा सुधार ल्याउनु यस परियोजनाको मुख्य उद्देश्य हो। यसले विशेषतः खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन, दक्ष कार्यबल विकास, र डिजिटल प्रविधिको प्रयोगमा टेवा पुर्याउनेछ।
मुख्य ध्यान दिइने क्षेत्रहरू
लाभार्थी व्यवस्थापन
भण्डारण तथा वितरण मोडेल
अनुगमन तथा मूल्याङ्कन प्रणाली
गुनासो निवारण संयन्त्र
दिगो विकास लक्ष्यमा योगदान
सन् २०२३ को सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको ७८औँ सत्रको अवसरमा घोषणा गरिएको भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत कार्यान्वयनका लागि विश्व खाद्य कार्यक्रमको सहकार्यमा नेपालमा यो परियोजना समेत चयन गरिएको हो।
दूतावासका अनुसार उक्त परियोजनाले भारत र नेपालबिचको बलियो विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, दक्षिण-दक्षिण सहकार्यका माध्यमबाट नवप्रवर्तनहरू साझा गर्दै खाद्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने उद्देश्य यसले राखेको छ।






प्रतिक्रिया राख्नुहोस्