पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको हात्तीलुङमा

पाल्पा – गएको एक घण्टामा सबैभन्दा बढी वर्षा पाल्पा जिल्लाको हात्तीलुङ भन्ने ठाउँमा भएको छ ।
हात्तीलुङ पाल्पाको माथा गढी गाउँपालिका ५ मा पर्दछ । यो जिल्ला सदरमुकाम तानसेनबाट २६ किलोमिटर उत्तर दक्षिणमा पर्दछ । यहाँ पछिल्लो एक घण्टामा १८ दशमलव ६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । देशका केही स्थानमा आज बिहान करिब साढे १० बजेदेखि वर्षा भइरहेको छ ।
पछिल्लो एक घण्टामा जिल्लाका दश वटै स्थानीय तहमा धेरै नै वर्षा भएको स्थानीयले बताएका छन् ।
पाल्पामा छुटफुट वर्षा भइराखे पनि यति ठुलो वर्षा आज बिहान १० बजेको समयमा भएको थियो ।
लामो खडेरीका बिच पानी परेपछि कृषक खुसी भएका छन् । जिल्लामा पर्याप्त वर्षा नहुँदा रोपाई पनि हुन सकेको छैन । भएको रोपाई पनि सिँचाइको अभावमा ओइलाई सकेको थियो ।
अहिले वर्षा भएपछि खेती किसानी गर्ने किसान उत्साहित बनेका छन् ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पा देखि रुपन्देही, झापा, रौतहट, कैलाली, डडेलधुरालगायत पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लामा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्