हेटौंडामा सुविधासम्पन्न प्रादेशिक कृषि थोक बजार उद्घाटन

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११, थानाभर्याङमा निर्माण गरिएको सुविधासम्पन्न प्रादेशिक कृषि थोक बजारको आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको थोक बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र उपमहानगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले उक्त थोक बजारलाई बागमती प्रदेश सरकारले नमूना कार्यक्रमको रूपमा अघि सारेको बताउनुभयो । उहाँले किसान, व्यवसायी र उपभोक्तालाई लक्षित गर्दै बजार सञ्चालन गरिने जानकारी दिनुभयो। “कृषक महासंघ, किसान महासंघ तथा कृषि क्षेत्रका सरोकारवालासँग समन्वयमा सञ्चालन गरिने यस थोक बजारले उपभोक्तालाई सुरक्षित र स्वस्थ तरकारी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ,” मन्त्री श्रेष्ठले भन्नुभयो।
हाललाई केवल भवनको उद्घाटन गरिएको भए पनि छिट्टै व्यावसायिक रूपमा थोक बजार सञ्चालनमा ल्याइने बताउँदै उहाँले सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा हेटौंडा उपमहानगरलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आगामी दिनमा यस्ता प्रविधिमैत्री थोक बजारहरू अन्य स्थानीय तहमा पनि विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा ९ वटा पालिकाका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो।
हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले थोक बजारलाई किसानप्रतिको सम्मानको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । किसानका लागि निर्माण भएको भवनमा मन्त्रालय राखिएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले यस्तो सुविधासम्पन्न संरचना किसानकै प्रयोगका लागि सुनिश्चित हुनुपर्ने बताउनुभयो । कार्यविधि स्वीकृत भएसँगै आगामी दशैँअघि नै बजार सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिँदै, उहाँले किसानलाई सिधै सञ्चालनको जिम्मा दिने उपमहानगरको योजना रहेको बताउनुभयो ।
कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थोक बजार प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत साझेदारीमा बनेको हो । बजारभित्र पक्की सडक निर्माणका लागि थप ७७ लाख रुपैयाँ बजेट कृषि विकास निर्देशनालयबाट विनियोजन गरिएको थियो । २ बिगाहा ४ धुरमा फैलिएको थोक बजारमा थोक बिक्रीका लागि दुईतले भवनमा ४० वटा सटर, ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था गरिएको छ। खुद्रा बिक्रीका लागि अलग्गै भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन्। साथै, साना किसानहरूले आफ्ना उत्पादनहरू आफैं बेच्न सक्ने टहराको पनि व्यवस्था गरिएको छ। यहाँ २ सय ३२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको कोल्ड स्टोरेज पनि निर्माण गरिएको छ, जसमा ५०० मेट्रिक टन कृषि उपज एकैपटक सुरक्षित रूपमा भण्डारण गर्न सकिने व्यवस्था छ।






प्रतिक्रिया राख्नुहोस्