नापतौलमा ठगी गर्ने चार सय बढी कारबाहीमा

सुर्खेत- गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले नापतौलमा ठगी गर्ने चार सय बढीलाई कारबाही गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८१-०८२ मा कर्णाली प्रदेशका दश जिल्लाका ४ सय २६ वटा उद्योग तथा व्यावसायिक फर्मलाई नापतौल ठगी गरेको कसुरमा कारबाही हो ।

प्रदेश राजधानी सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्लाका उद्योग तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरिएको कार्यालयले जनाएको छ ।

सुर्खेत कार्यालय प्रमुख गणेश पौडेलले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरिएको जानकारी दिनु भयो ।

उहाँले गएको आर्थिक वर्षमा एकल र संयुक्त गरी कुल २ सय ३७ पटक उद्योग तथा व्यावसायिक फर्मको अनुगमन एवं निरीक्षण गरिएको बताउनु भयो ।

अनुगमन तथा निरीक्षणका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमित रुपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित नापतौल यन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानुनी दायरामा ल्याईएको उहाँको भनाइ छ ।

उहाँले गत आर्थिक वर्षमा २ सय २६ वटा उद्योग तथा व्यावसायिक फर्मलाई नयाँ नाप्ने तथा तौलिने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यालयका सूचना अधिकारी (सहायक निरीक्षक) टोपेन्द्र विकले गत आर्थिक वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको, कम तौलको सामान दिई बढी रकम लिने गरेको उपभोक्ताको गुनासोका आधारमा कानुन बमोजिम कारबाही गरिएको बताउनु भयो ।

उहाँले उक्त अवधिमा ६ सय ८४ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएकोमा केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा समेत कैफियत देखिएपछि जरिवाना गरी पुनः गल्ति नदोहोर्‍याउन सचेत गराइएको जनाउनु भयो ।

उहाँका अनुसार पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा कार्यालयले ७ लाख ८२ हजार ३ सय ६८ रुपैयाँ राजस्व संकलन गरेको छ । उहाँले कर्णालीका दश जिल्ला कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा भाडाको सानो घरबाट सेवा प्रवाह गर्न असहज भईरहेको बताउनु भयो ।

कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसँगै अनुगमन, निरीक्षण तथा डोर खटनपटनका लागि आफ्नै सवारी साधन नहुँदा थप समस्या भईरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.