‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली संस्कृति विश्वभर विस्तार गरेको छ’

काठमाडौँ– संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली संस्कृतिको दायरालाई विश्वभर विस्तार गर्न टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सघाइरहेको बताउनु भएको छ । मन्त्रालयकै सभा हलमा दुवै रियालिटी शोका टप टेन प्रतिभाहरूसँग अन्तर्क्रिया गर्नुहुँदै मन्त्री पाण्डेले नेपाली संस्कृतिलाई पहिचान र पर्यटनसँग जोडेर गीत–सङ्गीत र नृत्यकलाको माध्यमबाट नेपालीपन प्रवर्द्धन गर्ने कार्यमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ ले निकै अर्थपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको हो ।
नेपाल टेलिभिजनमा प्रसारण हुने यी दुवै रियालिटी शो गैरनाफामुखी सामाजिक संस्था इन्ट्रा फाउन्डेसनले निर्माण गरेको हो । हाल दुवै शोको सिजन–२ जारी छ । मन्त्री पाण्डेले ‘मेरो डान्स युनिभर्स’ सिजन– १ का विजेता थाइल्यान्डका नेपाली प्रतिभा खुसी कार्कीसँग केही अघि थाइल्यान्डकै एक कार्यक्रममा भेटेको सन्दर्भ समेत सुनाउनुहुँदै संसारभर फैलिएका नेपालीहरूलाई संस्कृतिको साझा धागोले जोड्ने काम इन्ट्रा फाउन्डेसनले गरेकोमा प्रशंसा गर्नुभयो । ‘एउटा राष्ट्रको हिसाबले हामीसँग बरु केही सीमाहरू छन्’, उहाँले भन्नुभयो, ‘तर, अमेरिका पुगेका भुटानी नेपालीहरूको संस्थाले नेपाली गीत–सङ्गीत र संस्कृतिमाथि यति ठुलो कार्य गर्नु भनेको निकै प्रसंसनिय छ ।’
मन्त्री पाण्डेले उत्कृष्ट अवार्ड जसले जिते पनि दुवै शोमा सहभागी सम्पूर्ण प्रतिभाहरूलाई नेपाली सांस्कृतिक दूतको रूपमा आ–आफ्नो भूमिमा सक्रिय हुन आग्रह समेत गर्नुभयो ।
फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार संसारभर छरिएका नेपाली मूलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । दुवै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई यो साता उत्कृष्ट ८ को सुचीमा प्रवेश गरेका छन् । ‘अन्टार्कटिकाबाहेक सबै महादेशमा हामी पुगेका छौँ’, उहाँले भन्नु भयो, ‘म्यान्मारबाट त त्यता पुगेको सातौँ पुस्ताका प्रतिभाले पहिलो पटक नेपालमा पाइला टेक्दै शोमा सहभागी हुने अवसर हासिल गर्नुभएको छ ।’
कार्यक्रममा म्यान्मारकै अस्मिता न्यौपाने, कतारको प्रतिनिधित्व गर्दै जुनु प्रसाईँ, सिक्किमबाट दिपराज राई र नेपालबाट प्रशान्त पोखरेलले मन्त्री पाण्डेसहितलाई गीत सुनाउनु भएको थियो । इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पना रहेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहीबार र शुक्रवार साँझ तथा ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । दुवै रियालिटी शोको प्रथम हुनेलाई जनही १- १ करोड रुपैयाँ, दोस्रोलाई ३०-३० लाख, तेस्रो हुनेलाई १०-१० लाख रुपैयाँ र उत्कृष्ट दशमा पर्ने सहभागीले जनही ३ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नुहुने बताइएको छ । दुवै शोको ग्राण्ड फिनाले आउँदो भदौ ७ गते गोदावरीमा हुने कार्यकारी निर्देशक भट्टराईले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्