रामग्राम नगरपालिकाव्दारा मेयर छात्रवृत्ति प्रदान

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्र रहेका निजी विद्यालयमा साढे दुई सय जना विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने गरी मेयर छात्रवृत्ति प्रदान गरेको छ । निजी विद्यालयहरूले छात्रवृत्तिमा विद्यार्थीहरूलाई अध्ययन गराउनुपर्ने दायित्व अन्तर्गत रामग्राम नगरपालिकामा अन्तर्गतका २३ वटा निजी विद्यालयले प्रदान गर्नुपर्ने निःशुल्क छात्रवृत्ति दुई सय पचास जना विद्यार्थीलाई वितरण गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र नगरपालिकाबिच मेयर छात्रवृत्ति कार्यक्रममा हस्ताक्षर भई चालु शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालनमा आएको नगर प्रमुख धनपति यादवले बताउनुभयो ।
मापदण्ड अनुसार गरिब विपन्न, जेहेन्दार, सीमान्तकृत समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पूर्ण रूपमा निःशुल्क पढ्न पाउनेछन् । नगरपालिकाले छात्रवृत्तिमा अध्ययनका लागी छनौट परीक्षा लिएको थियो । नगर प्रमुख यादवले छनौट भएका विद्यार्थीलाई प्रमाणपत्र र शैक्षिक सामग्री दिएर हौसला प्रदान गरेको बताउनुभयो ।
अभिभावक वीरेन्द्र ठाकुरले निजी विद्यालयमा छात्रवृत्ति कार्यक्रम लागु हुनु अभिभावकको लागी खुसीको कुरा भएको बताउँदै नगरपालिकाले संस्थागत विद्यालयलाई समेत जिम्मेवार बनाउँदै लगेको बताउनुभयो । प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्व अन्तरगत स्थानीय सरकारलाई सहयोग गरेको बताउनुभयो ।
रामग्राम नगरपालिकाले विद्यार्थी छनौटको मापदण्ड बनाएर मापदण्ड अनुसार छनौट भएका बालबालिकालाई विभिन्न संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागी पठाएको हो ।





प्रतिक्रिया राख्नुहोस्