रैनादेवी छहरा गाउँपालिकाद्धारा एकीकृत घुम्ती शिविर सुरु

पाल्पा- पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पालिकाबाट दिने सुविधा वडाबाटै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । पालिकाका आठ वटा वडामा सुरु गरिने एकीकृत घुम्ती शिविर पालिकाको दुर्गम मानिने वडा नं ८ बल्ढेङ्गगेढीबाट सुरु गरिएको हो ।
शिविरमा अपाङ्गता परिचय पत्र नवीकरण तथा वितरण, व्यवसाय अभिलेखीकरण, व्यवसाय दर्ता तथा नवीकरण, दीर्घ रोगी तथ्याङ्क सङ्कलन, कृषि तथा पशुपक्षी समूह फर्म दर्ता तथा नवीकरण जस्ता सेवाहरू प्रदान गरिएको थियो ।
शिविरको शुभारम्भ गर्दै रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले एकीकृत घुम्ती शिविर कार्यक्रमले गाउँपालिकाको सेवा प्रवाहलाई जनमुखी, सहज र नागरिकमैत्री बनाउन टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा नं ८ का अध्यक्ष रेम बहादुर राना, स्वास्थ्य शाखा प्रमुख जीवन राना, मेडिकल अधिकृत डा. शिशिर कुमार पटेल, राजस्व शाखा प्रमुख हरि प्रसाद पराजुली, पशु विकास शाखा प्रमुख धिरोज मगर लगायतले कार्यक्रममा बोल्दै शिविरले ग्रामीण क्षेत्रका नागरिकहरूलाई समय र श्रमको बचत गर्दै पालिकाको गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो ।
यही साउन २० गतेबाट सुरु भएको एकीकृत घुम्ती शिविर कार्यक्रम साउन २६ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्