माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष दाहाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताउनुभएको छ ।

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै उहाँले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले ‘एमसिसी’ नेपालका पक्षमा रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “जनताका अगाडि सर्वसम्मतरुपमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको छ, त्यो आफैँमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गर्ने ढोका बनेको छ, माओवादीले छाडेर हिँड्दा जस्ताको तस्तै पास हुने अवस्था थियो, त्यसो हुन दिएनौँ । अब त्यसमा बोल्ने ठाउँ रहेको छ ।”

उहाँले अन्तरराष्ट्रिय कानुनका ज्ञाताबाट प्राप्त सुझावसहित भियना ‘कन्भेन्सन’का आधारमा केही बोल्ने ठाउँ रहने जानकारी प्राप्त भएपछि माओवादी केन्द्रको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष दाहालले ‘एमसिसी’का पक्ष र विपक्षमा वकालत गर्नेहरूका लागि विमोचित पुस्तक पठनीय सामग्री भएको बताउनुभयो ।

माओवादी केन्द्रका नेता एवं पुस्तकका लेखक पोखरेलले आफ्नो पार्टीले बाध्यात्मक परिस्थितिमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको जानकारी दिँदै सुरक्षा चुनौतीसहित समग्र पक्षलाई समेटेर पुस्तक तयार पारेको जानकारी दिनुभयो ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं माओवादी केन्द्रका नेता दीनानाथ शर्माले ‘एमसिसी’का बारेमा बुझ्न चाहने पाठकका लागि पुस्तक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.