नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ राजधानीमा सुरु

काठमाडौँ –  नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) को आयोजनामा “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” बुधवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” को औपचारिक रूपमा उद्घाटन गर्नुभयो। नाईमाको प्रदर्शनीले नेपालले अटोमोटिभ क्षेत्रमा प्रगति गरिरहेको छ भन्ने सङ्केत गरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो।

गुणस्तरिय सडक पूर्वाधार बिना अटो मोबाइलको क्षेत्रमा जस्तोसुकै प्रदर्शनी गरे पनि त्यसको सही सदुपयोग हुन नसक्ने भन्दै अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्त्व दिएको उहाँले बताउनु भयो।

सडक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आजको युग कनेक्टिभिटिको भएको र यसका विभिन्न विधाहरू मध्ये सडक सञ्जाल पनि महत्त्वपूर्ण भएको उहाँले  उल्लेख गर्नुभयो।

नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनीको रूपमा दाबी गर्दै नाईमाका अध्यक्ष रितु सिंह वैद्यले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजार (१.२४ मिलियन) रोजगारी प्रदान गरिरहेको बताउनु भयो।

अध्यक्ष वैद्यले ५० भन्दा बढी सवारीसाधनका ब्रान्डहरूका साथ प्रदर्शनीमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी ३५ ओटा नयाँ सवारीसाधनहरू सार्वजनिक गरिने जानकारी दिनुभयो। साथै प्रदर्शनीबाट जम्मा भएको सम्पूर्ण आम्दानी यसै क्षेत्रको विकासमा लगानी गरिने उहाँले बताउनु भयो ।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा विभिन्न कम्पनी र ब्रान्डका विद्युतीय सवारीसाधन (ई भी) हरूका साथै इलेक्ट्रिक बाइक र स्कुटरहरू प्रदर्शनीमा राखिएका छन्।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा टोयोटा, किया, हुन्डाई, बीवाईडी, निशान, एमजी, माक्सस्, लगायत कम्पनीहरूले आफ्नो ई भी प्रदर्शनीमा राखेका छन्। त्यसै गरी सेग्वे, निउ, एथर, गोगोरो लगायतका विभिन्न कम्पनीका इलेक्ट्रिक बाइक र स्कुटरतर्फ प्रदर्शनीमा राखेका छन्।

पाँच दिने “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” प्रदर्शनी साउन २५ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.