जगन्नाथ भगवानको गाजनेमा रथयात्रासहित कपडा फेरियो

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्ल पक्ष द्वादशी तिथिको अवसर पारेर बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरमा कार्यक्रमका अतिथि, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरू, मन्दिरका पुजारी, सहभागी भक्तजनहरू, स्थानीयवासी, सर्वसाधारण लगायतले भजन कीर्तन गर्नुका साथै भगवान् जगन्नाथलाई काँधमा बोकेर रथयात्रा गरेका थिए ।
सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्ल पक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुई जना व्यक्तिले पनि साफा र कपडा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने परम्परा रहेकाले यसबाट तँछाडमछाड हुने र जसले जति पटक पनि ल्याउन सक्ने भएको हुँदा यस्तो कार्य रोक्न हरेक वर्षको एक पटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको जगन्नाथ मन्दिरका अध्यक्ष नीलकण्ठ शर्माले बताउनुभयो ।
हरेक वर्षको एक पटक जगन्नाथको प्रत्यक्ष रूपमा दर्शन गर्न पाइन्छ भने सोही दिन जगन्नाथ भगवानलाई यसअघि लगाइएका साफा तथा कपडा फेरिदिने प्रचलन रहेको छ । श्रावण शुक्ल द्वादशी तिथिमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन मात्र सबैलाई भगवान् जगन्नाथको प्रत्यक्ष दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । जगन्नाथ मन्दिरको हरेक वर्ष श्रावण शुक्ल पक्ष द्वादशी तिथिको अवसर पारेर रथयात्रा तथा सरकारी भोजको कार्यक्रम समेत आयोजना गरिँदै आएको छ ।
यस वर्ष रथयात्रा कार्यक्रममा ४१ पाथी चामलको खिर पकाएर सहभागी भक्तजनलगायत सबैलाई खुवाइएको थियो । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पूजाआजा गर्न म्याग्दीसहित विभिन्न जिल्लाहरूबाट करिब १ हजारको हाराहारीमा भक्तजनहरू जगन्नाथ पुगेका थिए । कार्यक्रमको अवसरमा जगन्नाथ मन्दिरलाई आर्थिक सहयोग गर्ने चन्दादातालाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो ।
नेपालमा बाइसे–चौबीसे राज्यकालमा वि.सं. १५६० को दशकमा ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यमा पुगेर भगवान् जगन्नाथको मूर्ति ल्याई गाजनेको हलहलेचौरमा स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती रहेको छ । गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिने आजभन्दा ५ सय २३ वर्ष पुरानो ऐतिहासिक जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब–महाराज, गणेश, राम–लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु बलभद्र तथा सुभद्रादेवी लगायतका मूर्तिहरू रहेका छन् ।
भगवान् जगन्नाथकै कारण गाजने गाउँमा अवैध घरेलु मदिरा उत्पादन तथा कुखुरा र बङ्गुर पालन गर्न निषेध गरिएको छ । यो नियम राजा डिम्बले जगन्नाथको मूर्ति स्थापना गर्ने क्रममै थितिको रूपमा बसालेको हुँदा आजपर्यन्त पनि कायमै रहेको स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्न आउने भक्तजनहरूलाई लक्षित गरेर समितिमार्फत नियमित पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।
वि.सं. २०६९ सालमा मङ्सिरको ७ देखि १३ गतेसम्म सप्ताहव्यापी महायज्ञ लगाइएको थियो । उक्त श्रीमद्भागवत ज्ञान महायज्ञबाट सङ्कलित एक करोड आठ लाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माणमा कुल ४७ लाख ९१ हजार नौ सय ७३ रुपैयाँ लगानी गरिएको थियो । मन्दिर शिखर शैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथको शैलीमा पुनर्निर्माण गरिएको छ । मन्दिरको शिरमा तामाको चार वटा मूल गजुर तथा चार वटा चोसामा पित्तलको सुनौलो रङका गजुरहरू राखिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्