विद्यार्थीका ९९ प्रश्नको कठघरामा अध्यक्ष दाहाल

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक विषयको सामना गर्नुपर्‍यो । उहाँलाई बिहिबार काठमाडौँमा विद्यार्थीहरूका ९९ प्रश्नको कठघरामा उभ्याइएको थियो ।

देशभरका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीका सङ्कलित प्रश्न अध्यक्ष दाहाललाई पालैपालो सोधिएको थियो । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहाललाई उक्त ९९ प्रश्नको कठघरामा उभ्याइएको हो ।

विद्यार्थीका अधिकांश प्रश्नहरू शैक्षिक विकृति, विसङ्गति, शिक्षा प्रणालीका कमजोरी, व्यावहारिक, रोजगार सीपमूलक र उद्यममूलक शिक्षा विकास हुन नसकेकामा आक्रोश थियो । ती प्रश्नहरूको अध्यक्ष दाहालले पालैपालो उत्तर दिनुभयो । चार सय ५० भन्दा बढी प्रश्नबाट छानेर उहाँलाई ९९ वटा प्रश्न सोधिएको हो ।

विद्यार्थीसँगका प्रश्नोत्तरको सहजीकरण भने पत्रकार रुपेश श्रेष्ठले गर्नुभएको थियो । विद्यार्थीका लिखित प्रश्नलाई श्रेष्ठले प्रस्तुत गर्ने र अध्यक्ष दाहालले जवाफ दिनेक्रम रह्यो । राष्ट्रियसभागृहको प्रेक्षालय भरिभराउ विद्यार्थी चोटिला प्रश्नमा गडगडाहट तालीसहित हुटिङ गर्थे । अध्यक्ष दाहालको सोहीअनुसारका जवाफमा पनि विद्यार्थीहरू ताली पड्काउँथे ।

शिक्षा निजीकरणको दलदलमा पुग्दा किन ध्यान पुगेन ? विद्यार्थी सुवास गौतमको प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “उच्च शिक्षा आयोग र विद्यालय शिक्षा विधेयकमा यही कुरालाई गुणात्मक सुधार गर्ने प्रयास गरिएको छ, तर ठूला पार्टी त्यतातर्फ नदेखिनु विडम्बना हो । ठूला पार्टी शिक्षाको गुणस्तर वृद्धि र मेरिटोक्रेसी बढाउने पक्षमा छैनन् ।”

सोही क्रममा पत्रकार श्रेष्ठले विद्यार्थी श्याम साह र अजय शर्माका जीवनोपयोगी शिक्षा खै ? र गुणस्तर शिक्षा किन छैन ? भन्ने प्रश्न अध्यक्ष दाहालसामु राखे । जवाफमा उहाँले भन्नुभयो, “शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ, मूल कुरा शिक्षालाई राज्यले नै जिम्मेवारी लिनुपर्छ । निजी शिक्षा निरुत्साहित गर्नुपर्छ ।”

श्रेष्ठले थप प्रश्न राखेके नेपालको शिक्षा प्रणाली त्यसरी अघि बढेको छ ? अध्यक्ष दाहालले थप्नुभयो, “दुर्भाग्य अहिलेसम्म त्यसअनुसार शिक्षा नीति कार्यान्वयन हुनसकेको छैन, आफ्नो सरकारका बेलामा उच्च शिक्षा आयोग गठन गरी शिक्षालाई रोजगारको प्रत्याभूति हुनेगरी प्रतिवेदन बनेको थियो, त्यो प्रतिवेदन नै गायब पारिएपछि अघि बढेन, तेस्रोपटक प्रधानमन्त्री हुँदा कार्यान्वयनको चरणमा जाँदैथियो सरकार ढल्यो ।”

विद्यार्थीहरूले अध्यक्ष दाहालसामु सीपमूलक शिक्षाको अभावमा बेरोजगारी बढेको, युवा विदेशिएका, अन्तरराष्ट्रिय रूपमा प्रतिष्पर्धा हुन नसकेका, उद्यमी बन्न नसकेको किन, शिक्षा प्रणाली किन सुधार भएन ?, के समस्या भयो ? कसले रोक्यो ? लगायतका प्रश्नहरू राखेका थिए ।

सो क्रममा अध्यक्ष दाहालले सार्वजनिक शिक्षामा आफूले सुधार गर्न खोजेको तर नदिएको भनेर जवाफ दिनुभएको थियो । त्यसमा कसको दोष रह्यो भन्ने प्रश्नमा उहाँले अहिलेका ठूला पार्टीले अवरोध गरेको जवाफ दिनुभयो । विद्यालय शिक्षा विधेयक पनि सरकारले नै रोकेको दाबी गर्दै उहाँले यो विधेयक पारित भए शिक्षाका धेरै समस्या हल हुने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले थप्नुभयो, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्काे क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन, फेरि सडकबाट क्रान्ति नगरेसम्म उनीहरूको दिमागमा छिर्ने छैन ।”

परम्पराको साङ्लोहरू अझै बाँकी रहेको र अहिलेका ठूला दल परम्परागत शिक्षालाई नै अघि बढाउन उद्यत रहेको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यही कारण क्रान्तिको खाँचो रहेको आफूले बताएको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा आमूल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको खाँचो रहेको औँल्याउँदै भन्नुभयो, “त्यसका लागि म सबैसामु अपिल पनि गर्दछु ।”

शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उक्त शैक्षिक संवाद अघि भने जनवादी गायक जीवन शर्माले सिमली छायाँमा लगायत गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा पार्टीका विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटा, उपाध्यक्ष मदन ढकाललगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता स्वर्गीय विनोद अधिकारीकी आमा हरिमायालाई दोसल्ला ओढाएर अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.