महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

महोत्तरी– महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो ।
साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । हिजो बिहीबार साउन चौथो साता सुरु हउञ्जेलसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।“साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको छ, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्नुहुन्छ, “रोपाइँ आज ६० प्रतिशतको हाराहारी पुगेको छ ।” साउन मसान्तसम्म यसै गतिमा रोपाइँ बढ्नसक्दा ८० प्रतिशत नाघ्ने कार्यालयको अड्कल छ ।
साउन मध्ययता इनार, स्यालोट्यूवबेल र डिपबोरिङबाट तानिएको पानीले आकासे पानीको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै  खेत हिल्याउन सहयोग पुगेको किसानले बताएका छन् ।
“परेकै पानीले खेत हिल्याउन त पुग्थेन, तर पानी परिरहँदा चाँडै खेत हिल्याउन सजिलो भयो” भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादव भन्नुहुन्छ, “हाम्रो बस्तीमा लगभग धान रोपाइँ सकिएको छ ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धाजा फाटेको खेतको रोपो पनि लहलहाएको यादव बताउनुहुन्छ ।
साउन तेस्रो साता सुरु भएयता त्यसअघिको रोपोलाई परेकै पानीले सास भरेको किसान बताउँछन् । “रोपाइँ गर्नचाहीँ अझै हामी इनार, डिपबोरिङबाट पानी तान्दैछाँै, तर पहिलेको रोपोलाई भने परेकै पानीले पुगेको छ” बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्नुहुन्छ, “पुरानो रोपो लहलहाउन थालेपछि धान भित्रिने आस जागेको छ ।”
जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यसमध्ये हिजोसम्म २५ हजार ७०० हेक्टर जग्गामा धान रोपिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यो रोपाइँ ५७ प्रतिशतभन्दा केही बढी हो । अहिले पनि किसान रोपाइँमा धसिएका छन् । अबका दिन वर्षा अनुकूल रहे साउन मसानतसम्म रोपाइँ ८० प्रतिशत नाघ्ने बाली विज्ञसमेत रहनुभएका कार्यालयका सूचना अधिकारी महतो बताउनुहुन्छ ।
यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोप किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा पटक–पटक ब्याड राख्नुपरेको औरही–७ भोइलका किसान मोहन महतो बताउनुहुन्छ । अब अहिले पानीको केही अनुकूलता हुँदा बीउ भने अपुग बन्दै गएको महतोको भनाइ छ ।
“खरुअन (कलम, पहिलो बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) पहिलो रोप नगाँजिदा छैन, बीउ ब्याडमै कतिपटक सुक्यो, अब अहिले बीउको हाहाकार पर्दैछ” महतोले किसानका दुःख सुनाउनुभयो । बीउ, मल, सिँचाइजस्ता आधारभूत खेतीका कुरा नपाइँदा कहिल्यै समयमा खेती लगाउन नपाएको यहाँका किसानको बिलौना छ ।
महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली मुख्यत पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदापछि परेको हो । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.