दुधपोखरीमा डुवेर एक युवा बेपत्ता

लमजुङ-  जनैपुर्णीमाको अवसरमा धार्मिक पर्यटकिय गन्तब्य दूधपोखरी नुहाउन गएका एक युवा डुवेर बेपत्ता भएका छन् । लमजुङ–मनाङ सिमानामा रहेको दुधपोखरी कुण्डमा नुहाउन गएका क्होलासोँथार गाउँपालिका–, भुजुङका १८ वर्षिय मनोज गुरुङ बेपत्ता भएका हुन् ।

जनैपुर्णिमाको अवसरमा लमजुङको दुई स्थानमा रहेका दुधपोखरी कुण्डहरुमा विशेष मेला लाग्ने गर्दछ । क्होलासोँथार गाउँपालिका भुजुङ अन्तर्गत पर्ने दुधपोखरी कुण्डमा नुहाउदै गर्दा गुरुङ बेपत्ता भएका हुन् ।

भुजुङ गाउँबाट गुरुङसहित नौ जनाको टोलि दुधपोखरी पुगेको थियो । शनिवार विहान ८ वजेतिर गन्तव्य पुगिसकेपछि नुहाउने क्रममा गुरुङ पोखरीमा पौडि खेल्न गएका थिए । संगै गएका अन्य साथिहरु कुण्डको छेउछाउमै पौडिएको र मनोज भने विचतिर सम्म पुगेपछि फर्कन नसकेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले बताउनुभयो ।

दुधपोखरीमा सञ्चार सुविधा नहुँदा सँगै गएका साथीहरुले ६–७ घण्टा वर आएर शनिवार साँझमात्रै गाउँमा खवर गरेका थिए । भौगोलिक विकटता र प्रतिकुल मौषमका कारण तत्कालै उद्धार गर्न नसकिएपछि आईतबार मात्रै स्थानिय र प्रहरी घटनास्थल तर्फ लागेको छ । गुरुङको खोजिका लागि स्थानियसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन गरीएको छ ।

लमजुङको पुर्वतर्फ गोरखा सिमाना र पश्चिम तर्फ मनाङ सिमानामा दुईवटा धार्मिक पर्यटकिय गन्तव्य दुधपोखरी कुण्ड रहेका छन् । दुवै कुण्डहरुमा जनैपुर्णीमाको अवसरमा तिर्थालुहरु नुहाउन तथा पुजा आजा गर्न पुग्ने गर्दछन् । हिमालको फेदमा रहेका दुवै कुण्डहरुमा भौगोलिक विकटताको कारण दुई दिनसम्म पैदल यात्रा गरेर मात्रै पुग्न सकिन्छ ।

हिमालको काखमा रहेका दूधपोखरी कुण्डहरु धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या पनि त्यतिकै हुन्छ । धेरै मोटा, रोगी, बृद्ध र बालकहरुका लागि दुवैतर्फको दुधपोखरीको यात्रा निकै कठिन हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.