भरतपुर महानगरको सार्वजनिक सुनुवाइ : प्रशंसा, ध्यानाकर्षण र सुझाव !

चितवन- भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् ।
महानगरको आर्थिक वर्ष २०८१÷८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा सहभागी अधिकांश महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासँगै ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् ।
सार्वजनिक सुनुवाइका क्रममा वडावासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरूले महानगरको विकास निर्माण र सेवा प्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । कार्यक्रमको सहजीकरण गरेको अग्रिम मिडिया नेटवर्क चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताइएको छ ।
२९ वटाका ५ सय जना बढीमा गरिएको सेवा सर्वेक्षणमा ६० प्रतिशत नगरवासी सन्तुष्ट, ३५ प्रतिशतले ठिकै र ५ प्रतिशत नगरवासीले असन्तुष्टि व्यक्त गरेको उल्लेख गरेका छन् ।
सो अवसरमा गौतम बुद्ध क्रिकेट रङ्गशाला, नारायणी तटबन्ध, सिटी हल, खानेपानी, हरियाली सडक, पुंगी तथा केरुङ्गा ड्रेन, महानगरीय प्रशासकीय भवन, शव दाह गृह, महानगरीय चक्रपथ, ओपन जु, फोहर मैला व्यवस्थापन लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले सडक, बत्ती, विद्युत्, ढल निर्माण, कृषि उपजको बजारीकरण, शिक्षा, स्वास्थ्य लगायतका सुशासनका विषयमा महानगर प्रमुख रेनु दाहाल प्रति प्रश्न राखेका थिए । उनीहरूले सबै वडामा वैज्ञानिक तवरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, सङ्घीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।
उहाँले महानगर अब विकास र समृद्धिका बाटाहरुसग आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पार्नुभयो ।
यस चौमासिक प्रगति समीक्षामा नगर वासीको रचनात्मक सुझाव र विकासमा तीव्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनाबद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को विनियोजित ५ अर्ब ४९ करोड २ लाख ६३ हजार रहेकोमा रु ४ अर्ब ३ करोड ५४ लाख खर्च भएको उल्लेख गर्नुभयो । यो बजेटको ७३ दशमलव ५ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८५ प्रतिशत र पुँजीगत तर्फ ६२ प्रतिशत खर्च भएको छ ।
यसै गरी महानगरले आर्थिक वर्ष २०८१÷०८२ मा एक अर्ब ३६ करोड ९१ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.