साउनको अन्तिम सोमवार दुप्चेश्वरमा हजारौँ भक्तजन

–एकै दिन झन्डै साँढे चार लाख भेटी सङ्कलन

नुवाकोट-  हिन्दुहरूको आराध्य देव भगवान् शिवको विशेष पूजा आराधना गर्ने विशेष महिनाको रूपमा साउन महिनालाई लिने गरिन्छ । यही साउन महिनामा व्रत बसेर भगवान् शिवको महिमा गाउनुका साथै विशेष भक्ति दर्शन गर्ने परम्परा चलिआएको छ ।
नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा साउनको अन्तिम अर्थात् चौथो सोमवार हजारौँ भक्तजनहरूले पूजापाठ तथा दर्शन गरेका छन् । प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रूपमा विकसित भइरहेको छ ।
मन्दिरमा दैनिक हजारौँ भक्तजनहरू पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । एकै दिन लाखौँ रुपैयाँ भक्तजनहरूले भेटी चढाउँदै आएका छन् ।
मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरूको समेत आगमन भइरहेको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रूपमा असङ्ख्य भक्तजनहरू आउने क्रमसमेत बढिरहेको स्थानीयवासीको भनाई छ ।
पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुँच र सहजतासँगै भक्तजनहरू आउने क्रमसमेत बढिरहेको छ । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा गाइको दूध तथा पशु चौपायाको दाम्लो चढाउनेसमेत गरिन्छ ।
सो मन्दिरमा काठमाडौँ तथा सदरमुकाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमवार मात्र एकै दिन झन्डै १५ हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पूजाआजा गरेका छन् ।
मन्दिरमा दर्शन गर्नेहरूको लाइन बेलुकीसम्म नै लागेको थियो । दुप्चेश्वरमा सोमवार भक्तजनहरूले चढाएको झन्डै साँढे चार लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।
भक्तजनहरू बढेका कारण भेटी सङ्कलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।  यातायात र सुलभ बाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
उक्त स्थानमा पुग्न नुवाकोटको विदुरबाट यातायातमा डेढ घण्टा र काठमाडौँवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरू आउने क्रममा बढोत्तरी भएसँगै भेटी सङ्कलन कार्य पनि बढिरहेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर बहादुर थापाको भनाई छ ।
प्रसिद्ध दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौँवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा बौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् । दुप्चेश्वरमा सोमवार १५ हजार जनाले मन्दिर पुगेर पूजाआजा गरेका छन् ।
जसमध्ये ६० प्रतिशत महिला रहेका थिए । नौ घण्टासम्म मन्दिर दर्शन गर्नका लागि भक्तजनहरू लाइन लागेको  थियो ।
दुप्चेश्वरमा छिमेकी मुलुक भारत वाटसमेत तिर्थालु आउने गरेका छन् । दुप्चेश्वरमा साउनको चोथो सोमबार चार लाख ३१ हजार २० रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 उहाँका अनुसार मन्दिरमा सन्ध्या आरतीको दुई लाख ९२ हजार ६ सय २० हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । मन्दिरमा राखिएको क्युआर कोडमार्फत १ हजार पाँचसय रुपैयाँ भेटी संकलन भएको छ ।
दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रूपमा गणना गर्ने कार्य भइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिति बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्र टार क्रियाशील रहेको बताउनु भयो ।
 
दुप्चेश्वर महादेव धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरू मध्ये अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रूपमा विशेष वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । दुप्चेश्वरमा आएकाहरूलाई पूजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमा सम्पर्क गरी वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणको व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन् भन्ने उद्देश्य रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ । दुप्चेश्वर जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकल मासमेत पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.