राप्ती नदीमा जथाभाबी उत्खननले सिँचाइमा समस्या

दाङ — राप्ती नदीमा मेसिन प्रयोग गरेर गरिएको जथाभाबी उत्खननले कतै सतह भासिएको छ भने कतै धार परिवर्तन भएको छ, जसका कारण आसपासका खेतबारीमा सिँचाइ गर्न कठिनाइ भएको छ।
भालुबाङ पुलचोकमा उत्तर–पश्चिम किनारबाट बग्ने राप्ती नदी अहिले दक्षिण–पूर्व किनारतर्फ मोडिएको छ। नदीको सतह गहिरिएपछि सिँचाइ कुलोमा पानी नपुगेको राप्ती गाउँपालिका–२ देउखुरीका किसान चिन्तामणि सुबेदीले गुनासो गर्नुभयो । उहाँका अनुसार पानी चढाउन हरेक वर्ष किसानले स्याउला र काठको अस्थायी बाँध बनाउनुपर्ने बाध्यता छ।
राप्ती नदीबाट जाने कच्ची सिँचाइ कुलोले १५ मौजाका करिब २५ सय बिघा खेतमा पानी पुर्याउँछ। तर, हरेक वर्षको दोहनले यो प्रणाली कमजोर बन्दै गएको छ। पक्की कुलो र स्थायी बाँधको अभावमा किसानले बर्सेनि समस्या भोगिरहेको देउखुरीका बुद्धिजीवी महेश रिजालले बताउनुभयो ।
वीर घाट नजिकै डोजर प्रयोग गरेर गरिएको उत्खननपछि नदीको सतह थप गहिरिएको किसान निमबहादुर पुनको भनाइ छ। पानी जहाँ होचो हुन्छ, त्यतातर्फ बग्ने भएकाले कुलोमा आपूर्ति घटेको उहाँको अनुभव छ।
स्थानीय तहले राप्ती नदीलाई राजस्व सङ्कलनको मुख्य स्रोतका रूपमा प्रयोग गर्दै नदीजन्य पदार्थ ठेक्का दिने गरेको छ। तर, ठेक्का पाएका व्यक्तिहरूले मेसिनमार्फत मनपरी उत्खनन गर्दा नदीको सतह भासिँदै सिँचाइ प्रणालीमा प्रत्यक्ष असर परेको किसानहरूको आरोप छ।






प्रतिक्रिया राख्नुहोस्