सहिद मार्ग राति बन्द हुँदा स्थानीयलाई सास्ती

दाङ – दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुम पूर्व जोड्ने सहिद मार्ग स्थानीय प्रशासनको रातको समयमा बन्द गरेपछि स्थानीयलाई सास्ती भएको छ ।
२ सय किलोमिटर लामो दुरी भएको सहिद मार्गको सबै खण्डमा जोखिम नभएको र मौसम सुधार हुँदा पनि जिल्ला प्रशासन कार्यालय रोल्पाले भदौ १५ सम्मका लागि बेलुकी ६ बजेदेखि बिहान साढे ५ बजेसम्म बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । जोखिम क्षेत्र र मौसमको पूर्वानुमान हेरेर सावधानी अपनाउनु पर्नेमा प्रशासनले एक महिनासम्म सडक बन्द गर्नु गलत भएको होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर ऐरीको भनाई छ । सहिद मार्गको सबै खण्डमा सडक नबिग्रिएको र मौसममा पनि सुधार भएको बेला बेलुकी ६ बजे नै सवारी रोक्नु उचित नभएको ऐरीले बताउनुभयो ।
सहिद मार्ग अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिकाको केही खण्डमा पहिरोको जोखिम भए पनि अन्य ठाउँमा पनि खास्सै जोखिम नभएकाले पुरै सडक बन्द गर्न नहुने स्थानीयको माग छ ।
तर प्रशासनले भने सर्वदलीय र सर्वपक्षीय छलफलबाटै निर्णय गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने सर्वसाधारणको ज्यु–धनको सुरक्षाकै लागि यस्तो निर्णय गरेको बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्