बिहान ८ बजेबाटै सेवा दिँदै जिल्ला प्रशासन स्याङ्जा

 स्याङ्जा – राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि भएसँगै  जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा प्रवाहको समय थप गरेको छ।
नेपाल सरकारले विभिन्न सार्वजनिक सेवा प्रवाहमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरे सङ्गै सामाजिक सुरक्षा भत्ताको नवीकरण चलिरहेको छ । सेवा ग्राहीको चाप अत्यधिक बढेको हुँदा बुधवारदेखि २ घण्टा समय बढाएर बिहान ८ बजेदेखि सेवा दिन सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सेवा ग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रवाह व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य सहित बुधवार बाट समय थपिएको स्याङ्जा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी गराउनुभयो ।
सामाजिक सुरक्षा भत्ता, बैङ्क खाता सञ्चालन, वैदेशिक रोजगार लगायत विविध क्षेत्रमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र अनिवार्य भएको छ । कार्यालयमा दैनिक राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि भएपछि प्रशासनले सार्वजनिक बिदाका दिन बाहेक अन्य दिन बिहान ८ बजेदेखि सेवा सुरु गरेको हो ।
जिल्लामा अहिले राष्ट्रिय परिचयपत्र दुई स्थानबाट हुँदै आएकोमा अर्को सातादेखि अवस्था हेरिकन सेवा थप गर्ने तयारी थालिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.