अलपत्र परेको भवनमा होमस्टे संचालन गरिने

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुईसे टोलमा अलपत्र परेको भवनमा होमस्टे संचालन गरिने भएको छ । वडा कार्यालयले आर्थिक बर्ष २०८१÷०८२ मा बषौँदेखि अलपत्र रहेको आरसिभियुको भवन मर्मत गरेर उक्त भवनमा होमस्टे संचालन गर्न लागेको हो ।

स्थानीय आमा समुहलाई भवनको जिम्मा लगाएर गाउँमा आउने पर्यटकका लागि होमस्टे संचालन गर्न लागेको वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । ‘बषौँदेखि अलपत्र अबस्थामा रहेको भवनलाई हामीले यसको मर्मत गरेर गाउँमा आउने पर्यटकका लागि स्थानीय आमा समुहको समन्वयमा होमस्टे संचालन गर्ने तयारी गरेका छौँ ।’ भण्डारीले भन्नुभयो ।

अघिल्लो आर्थिक बर्षमा भवनको शौचालय, छानो मर्मत, झ्याल ढोका, रेलिङ र कोठामा रङ लगाउने काम भएको छ । यो आर्थिक बर्ष पनि बाँकी रहेको कामलाई मर्मत गरेर यही आर्थिक बर्षदेखि होमस्टे संचालन गर्ने तयारी गरिएको छ ।

पर्यटकीय स्थल रुईसे, भेडी ओडार पुग्ने पर्यटकलाई लक्षित गरी रुईसेटोलमा होमस्टे संचालन गर्न लागेको वडाले जनाएको छ । ‘होमस्टे संचालनमा आएपछि यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ गाउँमा उत्पादन हुने स्थानीय उत्पादनलाई समेत प्रोत्साहन हुन्छ ।’ वडा अध्यक्ष भण्डारीले भन्नुभयो ।

२०३८ सालमा निर्माण भएको भवनमा तत्कालिन समयमा वन कार्यालय रहेको थियो । वन कार्यालयलाई जिल्लामा तानिएपछि उक्त भवन अलपत्र थियो । गाउँमा आपत विपद पर्दा उक्त भवनलाई प्रयोग गरिदै आएपनि भवनको मर्मत सम्भारको काम भने हुन सकेको थिएन ।
पर्यटकीय स्थल रुईसे जाने पर्यटकहरु गाउँमा होमस्टे वा होटल खोज्दा पनि छैन भन्नुपने अबस्था थियो रुईसेटोलका स्थानीय खिम बहादुर भण्डारीले भन्नुभयो ।

‘गाउँको बिचमा अलपत्र अबस्थामा रहेको भवनमा होमस्टे संचालनमा आएपछि गाउँमा आउने पर्यटकलाई फर्काउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।, होमस्टे संचालनमा आएपछि गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जान्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.