सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर बिदा

डोटी- डोटीसहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेशभर धुमधामसँग मनाइने गरिन्छ ।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । आज मीठो मसिनो खाना खाने चलन रहेको छ भने बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ ।

कर्कलो, काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तलाई बाँड्ने प्रचलन पनि यो पर्वमा छ ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठोमसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको जानकारहरु बताउँछन् ।

विगतमा वर्षायाममा दादुरा, झाडापखाला, लुतो, हैँजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के पर्व मनाउँदै आएको विश्वास गरिन्छ ।

साउन महिना सकिएर भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धामका मुख्य पुजारी सिद्धराज बिनाडी बताउनुहुन्छ ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।

ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ । ओल्के पर्बको अबसरमा आज सुदुरपश्चिम प्रदेश सरकारले बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.