आज पाल्पा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औँ रथ यात्रा निकालिँदै

पाल्पा- आज पाल्पास्थित आज पाल्पा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औँ रथ यात्रा निकालिँदै छ । दिउँसो १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रासहित भगवतीको रथलाई नगर परिक्रमा गराउने कार्यक्रम छ । नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको रथ सहितको सिन्दूर जात्रा निकाल्ने प्रचलन छ । रथयात्रामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभामुख, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसद लगायतका उच्च पदस्थ व्यक्तिको सहभागिता रहने मन्दिर व्यवस्थापन गुठीका अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो ।
तत्कालीन नेपाली सेनाका पाल्पा कमान्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीन तले मन्दिर बनाई भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेको र युद्धमा विजयी भएपछि भाकलअनुसार वि.स. १८७७ देखि कृष्ण जन्माष्टमी मध्यरातमा पूजाआरधना गरी भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । वि. स. १८७१ देखि १८७२ मा नुवाकोट र जित गढीमा भएको नेपाल अङ्ग्रेज युद्धमा पाल्पाली कमान्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई हराउन सफल भएका थिए । रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लालाई सार्वजनिक बिदा समेत दिएको छ ।






प्रतिक्रिया राख्नुहोस्