देशकै ठुलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सङ्कटमा

बारा – वार्षिक करोडौँ आम्दानी हुन सक्ने देशकै ठुलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सङ्कटमा परेको छ ।
बाराको कोल्हवी नगरपालिका–४ स्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सम्बन्धित निकायको बेवास्ता पछि वार्षिक २० टन सुगन्धित तेल उत्पादन गर्ने लक्ष्य भएको यो कम्पनीमा आधा भन्दा कम उत्पादन भएपछि सङ्कटमा परेको हो ।
औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दै गएको छ । जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो ।
विगतमा वार्षिक २० टन हाराहारीमा उत्पादन हुँदै आएको कम्पनीमा यस आ.व. २०८१÷०८२ मा आधा भन्दा कम केबल ९ टन मात्र उत्पादन गरेको छ । जुन गत आ.व.मा आधा मात्र उत्पादन गरेको थियो । विभिन्न समस्याका कारण लक्ष्य पुरा गर्न नसक्ने भएपछि यसबर्ष लक्ष्य घटाएर १७ टन मात्र बनाइएको प्रमुख प्रविन आचार्यले बताउनु भएको छ ।
सरकारी लगानीको देशकै ठुलो जडीबुटी उद्योगमा सीमित नाफामा वर्षौँदेखि चित्त बुझाइरहेको मुलुककै पुरानो अनि जेठो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी बि.स. २०२२ सालमा वनस्पति विभाग अन्तर्गत जिल्ला वनस्पति कार्यालय रहेको थियो । उत्पादकत्व बढाउँदै प्रशोधन गरी फाइदा कमाउने उद्देश्यले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड नामाकरण गरी २०३८ सालमा स्थापना गरिएको यो कम्पनी बर्सैपिच्छे सङ्कटमा परेको हो ।
सयौँ स्थानीयलाई रोजगार प्रदान गर्दै आएको यस उद्योगले यहाँ उत्पादन तथा प्रशोधन गरिएका जडीबुटी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्दै आएको छ । सरकारले वन क्षेत्रको ३३३ हेक्टर (५ सय बिघा) जमिन जडीबुटी उत्पादनका लागि उपलब्ध गराएको हो । उक्त जमिनमध्ये पहिले ३१५ बिगाहामा खेती हुने गरेकोमा अहिले झनै घटेर अहिले २६४ बिगाहामा खेती हुँदै आएको छ ।
लेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, क्यामोमाईल, फ्रेन्चवेशील मेन्था पिपरेटा र अश्वगन्था खेती गरी सुगन्धित वनस्पति, जडीबुटी उत्पादन गरिँदै आएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, शाखा कार्यालय तामागढीका प्रमुख आचार्य बताउनु हुन्छ ।
परम्परागत रुपमा हुँदै आएको खेती प्रणालीलाई परिवर्तन गर्न प्रयास हुँदै आएको छ । लागत घटाउन विद्युतीय मोटरबाट सिचाई खेती गर्ने र थप जडीबुटी खेती गर्ने लक्ष्य छ ।
२२ वर्षदेखि पदपूर्ति भएको थिएन । भर्खरै केही कर्मचारी आए पनि धेरै कर्मचारीका पदपूर्ति हुन बाँकी छ । कम्पनीमा स्थायी कर्मचारी २४ जना हुनुपर्नेमा आधा कम १० कार्यरत छन् । करारमा ५, मासिक ज्यालादारी ६४ र दैनिक ज्यामी रूपमा १५० कर्मचारीले काम गर्दै आएका छन् । ५०० ले प्रत्यक्ष र ८०० ले बाहिर रोजगारी पाएका छन् । स्थानीयले कम्पनीबाट ३ करोड बढीको कारोबार गरेको प्रमुख आचार्यको भनाई छ ।
नयाँ प्रविधि, उत्पादन प्रशोधनमा क्षमता बिस्तार , भण्डारण , नयाँ जात बेर्ना उत्पादन, लागत न्यूनीकरण, प्राङगारिक प्रमाणीकरण र सरकारको सहयोग हुने हो भने भविष्य धेरै राम्रो छ । कम्पनीलाई व्यवस्थित गर्ने र दक्ष जनशक्ति एवं प्राविधिक पदपूर्ति भए अहिलेको आम्दानी भन्दा दोब्बर उत्पादन र प्रशोधन हुन सक्ने र मुनाफा पनि दोब्बर हुने कार्यरत मजदुरहरू बताउँछन् ।
मधेस प्रदेश सरकारले नयाँ जडीबुटी वन बनाउन करोडौँ रुपैयाँ खर्च गर्दै आए पनि पहिले देखिनै रहेको जडीबुटी कम्पनीलाई कुनै सहयोग गरेको छैन । त्यसो त स्थानीय तहको पनि बेवास्ता छ । जडीबुटीको माग बढ्दै जाँदा समेत देशभरमा दशकौँदेखि स्थापित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीहरू यथास्थितिमै छन् । न उत्पादन बढाउन सकेका छन् । न त नाफा कमाउनै सकेको छन् । लगानी र स्वीकृत व्यावसायिक योजना कार्यान्वयनको अभावमा कम्पनी फड्को मार्न सकेको छैन । उत्पादनका लागि आवश्यक साधन स्रोत, जनशक्ति र बजेट अभाव देखिएको छ । यसको अभावले उन्नत जातका जडीबुटीको खेती हुन सकेको छैन । वर्षौँदेखि पुरानै जातको खेती हुँदै आएको छ । यान्त्रिक प्रविधिबाट खेती हुन नसक्दा लागत मात्र बढेर गएको छ ।






प्रतिक्रिया राख्नुहोस्