म्याग्दीमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढ्यो

म्याग्दी– वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढेसँगै म्याग्दीमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी बनाउनेहरू धेरै भएका छन् । वैदेशिक रोजगारी, पेसा तथा व्यवसाय र अध्ययनका लागि विदेश जानेहरूको सङ्ख्या बढेपछि नागरिकताभन्दा राहदानी लिनेहरू धेरै देखिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा नागरिकताको तुलनामा राहदानी लिनेहरूको सङ्ख्या धेरै छ । गएको आर्थिक वर्ष २०८१÷०८२ मा सामान्यतर्फ कुल ५ हजार ६ सय ९० वटा राहदानी सिफारिस गरिएकोमा द्रुत सेवातर्फ ४५ वटा सिफारिस भएका छन् । गतभन्दा अघिल्लो आव ०८०÷०८१ मा कुल ५ हजार ९ सय ६८ वटा राहदानी सिफारिस भएका थिए ।

तीमध्ये सामान्यतर्फ ५ हजार ९ सय १३ र द्रुत सेवातर्फ ५५ वटा राहदानी सिफारिस भएका छन् । गएको वर्षमा ५ हजार ४ सय ४६ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीको सूचना अधिकारी समेत रहनुभएकी सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताउनुभयो । गतभन्दा अघिल्लो आवमा ५ हजार ७ सय ४६ वटा राहदानी वितरण गरिएको छ भने गत वर्षको ४ सय ४१ वटा राहदानी वितरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

गत वर्ष साधारण तथा द्रुत सिफारिस र वितरण हुन बाँकी गरी कुल ११ हजार ६ सय २२ वटा राहदानी सम्बन्धी काम भएको छ । कोभिड–१९ पछि खास गरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि राहदानी बनाउनेको पनि सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ । सामान्य राहदानीका लागि प्रति राहदानीबापत सेवाग्राहीले पाँच हजार रुपैयाँ राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था रहेको छ भने द्रुत सेवाको राहदानी परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा प्रति राहदानीबापत नगद १० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ ।

अहिले पछिल्लो नयाँ व्यवस्था अनुसार राहदानीको शुल्क तोकिएको बैङ्कमा जम्मा गरी त्यसको भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाएर रसिद लिनुपर्ने व्यवस्था रहेको सहायक प्रजिअ आचार्यले जानकारी दिनुभयो । यसै गरी नागरिकतातर्फ गत वर्ष वंशज, प्रतिलिपि, वैवाहिक अङ्गीकृत र गैर आवासीय गरी कुल ९ हजार ३ सय ७५ वटा मात्रै नागरिकता जारी भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट गएको वर्ष वंशजको आधारमा ५ हजार ९ सय १७ वटा नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेकोमा ३ हजार ४ सय ४३ वटा प्रतिलिपि जारी गरिएको सहायक प्रजिअ आचार्यको भनाइ छ । गतभन्दा अघिल्लो आवमा ५ हजार ५ सय ३२ वटा नयाँ नागरिकता जारी भएकोमा ३ हजार ४ सय ६२ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको थियो ।

गत वर्ष वैवाहिक अङ्गीकृतका नागरिकता ६ वटा वितरण गरिएको छ भने ९ वटा गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । गतभन्दा अघिल्लो आवमा ३४ वटा गैर आवासीय नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसै गरी गत वर्ष कुल ११ हजार ८ सय ८० वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भएकोमा ५ हजार ५ सय ५८ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । गतभन्दा अघिल्लो आवमा कुल ९ हजार ६ सय ६२ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भएकोमा १ हजार १२ वटा राष्ट्रिय परिचयपत्र वितरण भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा नागरिकताभन्दा पनि राहदानी लिनेहरू क्रमशः बढ्दै गएकोमा तीमध्ये अधिकांश कलेज उमेर समूहका छन् । वैदेशिक रोजगारी, पेसा तथा व्यवसाय, अध्ययन, बसाइँ सराइ, घुमफिर, पारिवारिक भेटघाटलगायत विभिन्न कारणले गर्दा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको पाइन्छ । पहिले लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी पछिल्लो पटक रेमिटेन्स धेरै भित्रिने जिल्लाको सूचीमा पर्दछ । अहिले क्रमशः खाडी मुलुकसँगै युरोप, अमेरिका जाने क्रम पनि तीव्र रूपमा बढेको छ ।

((

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.