पाँच दशक पछि भूम्लुका नागरिकलाई जग्गाधनी पुर्जा वितरण

काभ्रे – नापी भएको पाँच दशक बर्सपछि भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ (साविक भुम्लु र फलाँटे ) का स्थानीयमा जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) पाएका छन् । यहाँका ९ सय ६९ घरपरिवारले जग्गा उपभोग गरे पनि कानुनी कागजात नहुँदा किनबेचका साथै अन्य कुनै सरकारी तथा वित्तीय काममा प्रयोग गर्न पाएका थिएनन् । वि.सं. २०३२ सालमा तत्कालीन भुम्लु र फलाटे गाउँ विकास समितिबिच सिमाना विवाद भएपछि त्यहाँका बासिन्दाले जग्गा नापी भए पनि लालपुर्जा पाउन सकेका थिएनन् । विभिन्न चरणमा भएका प्रयासपछि मङ्गलवार यहाँका ४ सय ३१ जनालाई जग्गाधनी प्रमाणपूर्जा लालपुर्जा वितरण गरिएको छ ।
सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतले लालपुर्जा वितरण गरेका हुन् । मन्त्री बलराम अधिकारीले विगतमा आयोग बनाए पनि अधिकार नदिएकाले समस्या समाधान हुन नसकेको बताउनु हुँदै अहिले भूमि समस्या समाधान आयोग गठन गरी ऐन निर्माण गरिसकेको र ८०% जिम्मेवारी स्थानीय पालिकालाई दिएको जानकारी दिनुभयो ।
उहाँले यो आयोग अन्तिम पटक गठन गरिएको भन्दै, अबदेखि पटक–पटक आयोग बनाउने चलन अन्त्य गर्ने बताए। कतिपय ठाउँमा बाटो, गौचरन, घाट र वनको रूपमा लेखिदिएकाले नयाँ विधेयक अगाडि बढाइएको र यसपछि कानुनी गाँठोहरू फुक्ने अपेक्षा राखिएको छ। बागमती प्रदेश सभा सदस्य रुक्कु चौलागाई: स्थानीय कार्यालय प्रमुख फेरिँदा काम अलमलमा परे पनि अहिले सफलता मिलेको बताइन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सचिव केदारनाथ शर्माले २०७१ सालदेखि प्रक्रिया सुरु भए पनि जनप्रतिनिधिको अभावमा रोकिएको कार्य अहिले सम्पन्न भएको जानकारी दिनुभयो ।
भूम्लुबाट १५०० बढी निवेदन परेकोमा ४०० पुर्जा वितरण भइसकेको जानकारी दिनुभयो । नापी विभाग प्रमुख प्रकाश जोशीले विगतमा सीमा विवादका कारण रोकिएको काम अहिले सबैको समन्वयबाट सम्पन्न भएको बत्ताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ: “२०३२ सालदेखि पुर्जाविहीन नागरिकलाई ५० वर्षपछि पुर्जा वितरण हुनु ऐतिहासिक काम भएको बत्ताउनुभयो ।
पालिका अध्यक्ष प्रेम बहादुर भुजेल र विभिन्न वडा अध्यक्षहरूले सबैको सक्रियता र समन्वयबाट मात्र यो सम्भव भएको बत्ताउनुभयो । भुम्लु गाउँपालिका वडा नं ७ र ८ का स्थानीय पुर्जा पाउँदा खुसी लागेको बत्ताउँछन् । ’लालपुर्जा नभएकै कारण यहाँका स्थानीयहरू हिजो कुनै व्यवसाय गर्न चाहँदा पनि मन खुम्चाएर बस्नुपर्ने अवस्था थियो ,अहिले ढिलै भए पनि लालपुर्जा पाउँदा खुसी लागेको बत्ताउँछन् , जग्गा भएर पनि सुकुम्वासी हुनुपर्ने स्थितिको अन्त्य भएको छ ।
कार्यक्रममा नापी कार्यालय काभ्रेका प्रमुख अशोक भुसाल, वडा नं. १ का वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ, २ का अध्यक्ष सुजन भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष अञ्चल कुमार लामा, वडा नं. ७ का रमेशराज खरेल र ८ का वडा अध्यक्ष मोतीलाल तामाङले सबैको सक्रियता, सहयोग र समन्वयबाट नै ५० वर्षपछि वडा नं. ७ र ८ का नागरिकले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्न सफल भएको बताउनुभयो । भुम्लु गाउँपालिकाको वडा नं. ७ र ८ का प्रतिनिधिमूलक रूपमा केही नागरिकलाई मन्त्री अधिकारीले जग्गा धनी प्रमाण पुर्जा वितरण पछि पुर्जा तयार भएका नागरिकलाई बाँकी वितरणको काम भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्