सूचना दिन अटेर गर्छन् रामेछापका सरकारी कार्यालयहरू

रामेछाप –  सार्वजनिक निकायले दिनै पर्ने सूचना पनि रामेछापका सरकारी कार्यालयहरूले दिन अटेर गर्ने गरेका छन् ।

सूचनाको हकका विषयमा रामेछाप जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखहरू तथा सूचना अधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले  यहाँका सार्वजनिक निकायहरूबाट सूचना पाउन निकै कठिन हुने गरेको बताएका हुन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको समन्वयमा जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कतिपय कार्यालयहरूबाट सूचना माग्दा धम्की समेत खेप्नु परेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा अवधारणा पत्र  प्रस्तुत गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले जिल्लाका आधा भन्दा बढी सरकारी कार्यालयहरूले हरेक ३।३ महिनामा सार्वजनिक गर्नै पर्ने सूचना समेत प्रकाशन नगरेको बताउनु भयो ।

सरकारी कार्यालयका कार्यालय प्रमुख, पत्रकार, सूचना अधिकारीहरू र सरोकारवाला समेतको सहभागिता रहेको कार्यक्रमका सहभागीहरूले सूचना माग गरिएका अधिकांश कार्यालयहरूले सूचना उपलब्ध नगराउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नागरिकले पाउनु पर्ने सबै सूचनाहरू उपलब्ध गराउनका लागि सबै सरकारी कार्यालयहरूलाई निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा पत्रकार तथा सूचनाको हक सम्बन्धी अभियानका अभियान्ताहरुले सुशासन र भ्रष्टाचारको न्यूनीकरणको लागि सूचनाको हक महत्त्वपूर्ण भएकाले यसको कार्यान्वयनको लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.