कोल्मा मैदान टोलका दलित समुदायलाई उब्जाउ गर्ने जग्गा समस्या

स्याङ्जा – स्याङ्जाको पुलिबजार नगरपालिका–९ कोल्मा मैदान टोलमा बस्दै आएका ३९ घर दलित समुदायको दैनिक जीवन यापन निकै समस्यामा रहेको छ । बास बस्नका लागि छानो त छ, तर पेट पाल्ने जमिनको अभावले उनीहरूलाई हरेक दिन श्रमको खोजीमा मेलापात गएर दैनिक गुजारा चलाउँदै आएका छन् ।

वर्षौँदेखि यहाँका स्थानीय आफ्नो पुर्खौली थातथलोमा बसोबास गर्दै आएको भए पनि आत्मनिर्भर जीवनशैलीको सपना भने अझै अधुरो छ ।  कृषि योग्य जमिन नभएको कारण बिहानदेखि बेलुकीसम्म अरूको खेतबारीमा पसिना बगाएर मात्र उनीहरूको चुलो बल्ने गर्दछ ।
राज्यका हरेक निकायले “समावेशी विकास“ र “दलित सशक्तीकरण“ को कुरा गर्दा पनि यस्ता समुदाय अझै पनि आधारभूत सुविधाबाट वञ्चित छन् । जग्गा पाउने योजनाहरू कागजमा सीमित हुँदा कोल्मा मैदानका दलितहरूका लागि आफ्नै जग्गामा खेतीपाती,पशुपालन गर्ने सपना अधुरै बनेको छ । अहिले यो बस्तीका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । स्थानीय सरकारले २०७६ सालमा जग्गा उपलब्ध गराउने भन्दै जग्गा विहीन फारम भरी भूमि सम्बन्धी समस्या समाधान आयोगमा पठाएपनी समस्या उस्तै रहेको वडा सदस्य कमला नेपाली बताउनुहुन्छ ।

स्याङ्जा सदरमुकाम पुतलिवजार देखि ८ किलोमिटर दुरीमा बस्दै आएका दलित समुदायको जीवनस्तर उकास्न सरकारी क्षेत्रबाटै पहल नहुँदा सम्म कोल्मा मैदान टोलका बस्ती गरिबी र परनिर्भरतामै रहने निस्चित देखिन्छ । यसका लागी बेलैमा ध्यान दिनु भने जरुरी देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.