गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै

भक्तपुर-  नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधवार सम्पन्न भोजनलिपि स्वादको छैटौं संस्करणमा उर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्तरुपमा स्वाद लिएर दुवै परिकारको प्रवर्धन अभियान सुरु गर्नुभएको हो ।
नेपाली खाना प्रवर्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाइ हस्पिटालिटीले दुवै देशका खानाहरुको प्रस्तुति गरेका हुन् । प्रस्तुतिमा दुवै देशका गरी करिव १ दर्जन परिकार प्रस्तुत गरिएको छ ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्वलाई जोड दिँदै नेपाल र थाइल्याण्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमको महत्त्वलाई उच्च मूल्याङ्कन गर्नुभयो ।
नेपालका लागि थाइ राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाइका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृति बीचको सम्वन्धलाई सुदृढ बनाउन दुवै देशकातर्फबाट प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो ।
यसअघि नेपाली खानाका परिकारहरुमात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौं संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रुपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीहरुको ईच्छा पूरा गरिएको नेपाली खाना प्रवर्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनुभयो ।
खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजको अवसरमा महिलाहरुलाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो ।
भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलहरुमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
बुधवार प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टंकराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङ लगायतले सहयोग गर्नुभएको थियो । भोजनलिपि स्वाद अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित अनुसन्धानमूलक प्रस्तुति हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.