महोत्तरीमा भन्सार छलीका लत्ता कपडा र हरिणको छाला बरामद

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–५, गौशाला बजारस्थित एक घरमा प्रहरीले छापा मार्दा ठुलो मात्रामा भन्सार छलीका सामान बरामद भएको छ। प्रहरीका अनुसार सो घर स्थानीय सुबोध यादवको हो जसलाई भारत, पश्चिम बङ्गाल, कोलकाताका ३६ वर्षीय मनोज रायले भाडामा लिएर बस्दै आएका थिए। मिति २०८२ भदौ ४ गते राति प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमान्डमा गएको टोलीले खानतलासी गर्दा करिब रु.१८ लाख बराबरका लत्ता कपडा फेला पारेको हो।

त्यसै गरी घरभित्रबाट एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मनोज रायलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

भन्सार छलीका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाउने कार्य भइरहेको छ भने आखेटोपाहारको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

महोत्तरी, भारतसँग जोडिएको खुला सीमावर्ती जिल्ला भएकाले वर्षौँदेखि भन्सार छलीका सामानहरू भित्रिने घटना भइरहेका छन्। सशस्त्र प्रहरीको बोर्डर नियन्त्रण हुँदै आएको भए पनि यस्ता सामान नेपाल भित्रनु निगरानी प्रणालीमै चुनौती रहेको देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.