थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ- पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताउनुभयो । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।

पाँच पाण्डव र द«ोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.