मुस्ताङमा भदौ १० गतेदेखि स्याउ टिप्न पाइने

म्याग्दी- हिमाल पारीको जिल्ला मुस्ताङको प्रमुख उत्पादन स्याउ यही भदौ १० गते मङ्गलवार देखी टिप्न सुरु गरिने भएको छ । स्याउ टिप्न समय तालिकालाई बनाइएको छ ।

उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको असोज १ गतेदेखि टिप्ने समय तालिकालाई नै यथावत् राखिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले जानकारी दिनुभयो ।

स्वादिलो र अर्ग्यानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणको आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ ।

आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले जानकारी दिनुभयो ।

समयभन्दा अगावै स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर र बोटको आयु समेत घट्ने भएकाले कार्य तालिकालाई अनिवार्य कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष बनाइएको स्याउ टिप्ने समय तालिकाको कार्यान्वयनसँगै कृषकले समेत तालिका अनुसार स्याउ बजारमा लगेका थिए ।

तापक्रम वृद्धिका कारण स्याउमा छिटो गुलियो पसेकाले स्थानीय बाहेक गाला प्रजातिका स्याउ र रिङरोट जातको स्याउ टिप्ने समय अगाडी रहेको छ । मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ ।

मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले ६ हजार ७८ मेट्रिक टन स्याउ उत्पादन उत्पादन हुने लक्ष्य राखिएको छ । प्रति हेक्टर १०.७४ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । मुस्ताङका बगैँचामा देशभरबाट व्यापारी बगैँचामा स्याउ नपाक्दै पेस्की लिएर समेत खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.