गोरखा पालुङ टारमा ४ सय रोपनी भन्दा बढी खेमा ब्लाष्ट रोग देखियो

गोरखा – पालुङ टार नगरपालिकाको विभिन्न क्षेत्रमा धानमा लाग्ने ब्लाष्ट रोग देखिएको छ । नगरपालिकाको वडा नम्बर ४, ६ र ८ मा गरी ४१० रोपनी क्षेत्रमा ब्लाष्ट रोग देखिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको हो ।
कृषि ज्ञान केन्द्र गोरखाका बाली संरक्षण अधिकृत अब्बा दत्त विष्टका अनुसार सबैभन्दा धेरै वडा नम्बर ८ को एक हजार फाँटको द्वारटारमा देखिएको छ । जहाँ २५ जनाभन्दा बढी किसानको ४०० रोपनी क्षेत्रफलमा लगाएको धान बालीमा ब्लाष्ट रोग देखिएको छ ।
ब्लाष्ट रोग धान बालीमा लाग्ने एक प्रकारको ढुसी किरा हो । यो रोग लागेको थाहा पाउने बित्तिकै ढुसीनाशक औषधी प्रयोग गर्न सकेको खण्डमा रोग नियन्त्रणमा लिन सकिने अधिकृत विष्टले बताउनु भयो ।
किसानहरूले लगाएको गोरखानाथ, सावित्री र मन्सुली धानमा ब्लाष्ट रोग देखिएको भएता पनि सोही फाँटमा लगाएको राम धानमा भने कुनै असर नदेखिएको उहाँले जानकारी दिनु भयो।
पालुङ टार नगरपालिकाकै वडा नम्बर ४ र ६ मा पनि केही किसानको खेतमा लगाएको धान बालीमा उक्त रोग देखिएको छ । ४ र ६ मा भने करिब ११ रोपनी क्षेत्रफलमा मात्र ब्लाष्ट रोग देखिएको उनले जानकारी दिनु भयो ।
किसानले ढिला गरी जानकारी दिएकाले रोग लागेको क्षेत्रमा पुग्दा केही खेतका धानहरू सुकेको अधिकृत विष्टले बताए । ‘किसानले हामीलाई ढिला गरी जानकारी गराए’ उनले भने ‘हामी धान खेतमा पुग्दा केही किसानको धान खेतमा सुकेको अवस्थामा देखियो ।’
ब्लाष्ट रोग सुरुमा नै पहिचान गर्न सके उपचार गर्न सकिने तर ढिला भएमा रोगको निदान गर्न मुस्किल हुने गर्दछ ।
रोग लागेको क्षेत्रमा सबै किसानलाई ढुसीनाशक औषधी दिएर स्प्रे समेत गरी सकेकोले उपचार लागेमा ५० प्रतिशतसम्म धान बाली जोगाउन सकिने उनले जानकारी दिनु भयो ।
ब्लाष्ट रोग लाग्नुको मुख्य कारण भने किसानले स्रोत पहिचान नगरी धानको बिउ खरिद गर्नु मुख्य कारण भएको बाली संरक्षण अधिकृत विष्टले बताए । ‘धानको बिउ खरिद गर्दा किसानले पहेँलो ट्याग लगाएको हुनुपर्छ’ उनले भने ‘होइन भने पनि उन्नत जातको बिउ खरिद गरेर ब्याड राखेमा पनि ब्लाष्ट रोग लाग्दैन ।’
धानको जातले पनि ब्लाष्ट रोग लाग्ने वा नलाग्ने हुने उहाँले जानकारी दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्