नेपाली महिलाहरूको चाड तीजको अघिल्लो दिन आज दर खाएर रमाइलो गरिँदै

भोलिको लागि पशुपतिनाथ दर्शनको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषद्वारा जानकारी

काठमाडौँ – महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज, दर खाने दिन ।

भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्‍न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्व मनाइन्छ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन रहेको छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

भोलि मनाइने तीज पर्वको समयमा कतिपय महिलाहरूले पानी समेत नखाइ व्रत बस्ने हुनाले त्यसो नगर्न चिकित्सकहरूले भने सुझाव दिएका छन् । साथै नियमित औषधि सेवन गरिरहेका महिला, गर्भवती, अस्वस्थ रहेका महिलाहरूलाई सकेसम्म व्रत नबस्न, बस्नै पर्ने भए आवश्यकता अनुसार पानी र फलफूलको सेवन गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।

पशुपति क्षेत्रमा सबै तयारी पूरा

पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ ।

कोषले पत्रकार सम्मेलनको आयोजना गर्दै मन्दिरको दर्शनका लागि विभिन्न ठाउँबाट लाइनहरुको व्यवस्था गरिएको जानकारी दिएको छ ।

पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो ।

यसैगरी तेस्रो लाइन पिङ्गला स्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट बागमति नदि पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उहाले बताउनुभयो ।

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने भट्टले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.