गोरखा जिल्ला प्रशासनद्वारा बिना अनुमति स्वास्थ्य शिविर सञ्चालनमा रोक

गोरखा- गोरखा सदरमुकामको छेवेटारमा रहेको निजी अस्पतालले बिना अनुमति स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेपछि गोरखा प्रशासन कारबाहीमा उत्रिएको छ ।
जिल्ला प्रशासनले आज सरोकारवाला निकायहरूको बैठक गरेर गोरखा नगरपालिका–१० को छेवेटारमा रहेको गोरखा मेमो रियल हस्पिटल प्रा.लीले गर्न लागेको स्वास्थ्य शिविर सञ्चालनमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा बसेको बैठकले हस्पिटलले गर्न लागेको निःशुल्क भिडियो एक्स-रे र हाड जोर्नी सम्बन्धी बिरामी चेकजाँच तत्कालकोलागि रोक लगाएको हो ।
हस्पिटलका व्यवस्थापक समेत रहेका दाउत तामाङलाई प्रशासनले बयान लिएर तारेखमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । ‘हामीले व्यवस्थापकलाई झिकाएर बयान लिएको छौ’ उहाँले भन्नु भयो ‘अस्पताल दर्तापछि हालसम्म पनि नवीकरण समेत नभएको देखिएकोले तत्कालै नवीकरण गर्न भनेका छौ ।’
गोरखा मेमोरियल हस्पिटल प्रा .ली दर्ता भए देखी अहिलेसम्म नवीकरण भएको छैन । त्यसैले पनि हामीले उनलाई नियन्त्रणमा लिएर बयान लिएका हौ सहायक प्रजिअ बरालले बताउनुभयो । अस्पतालको बारेमा आवश्यक अनुसन्धान समेत अगाडी बढाएको उहाँले जानकारी दिनु भयो।
जिल्ला प्रशासन कार्यालय गोरखाले आज बोलाएको आकस्मिक बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिक, वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बहादुर राना, प्रदेश गोरखा अस्पतालका मेसु डा.सिद्धार्थ खनाल, गोरखा नगरपालिकाका निश्चल अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालयका सुकमेल बराल तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्