दूधमा अनुदान लागि १५ लाख विनियोजन

गोरखा – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिन यस वर्ष १५ लाख विनियोजन गरेको छ । दूध उत्पादन कृषकलाई प्रोत्साहनका लागि कार्यालयले चालु आर्थिक वर्ष ०८२–०८३ को लागि १५ लाख बजेट विनियोजन गरेको हो ।
कार्यालयले सहकारी मार्फत दूध बिकी गर्ने किसानहरूलाई प्रोत्साहन गर्न प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिने व्यवस्था मिलाएको विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा.अनन्त कोइरालो जानकारी दिनु भयो। उनले भने ‘दूध उत्पादनमा अनुदान कार्यक्रमले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्याउनुका साथै जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन समेत सहयोग पुग्छ ।’
अनुदान पाउने किसानले कार्यालयमा सूचिकृत भएको दुग्ध उत्पादन सहकारीमा दूध सङ्कलन गराउन पर्ने कार्यविधि रहेको उनले बताउनु भयो। ‘थोरै दूध उत्पादन हुने किसानले सङ्गठित रूपमा काम गरोस् भनेर सहकारी मार्फत काम गराउने कार्यविधि तयार पारेको हो’ उहाँले भन्नु भयो यसले साना किसानहरूको घरमा रहेको दूध समेत बजारसम्म जाने बाटो सहज हुन्छ ।’
गत वर्ष १० लाख रुपैयाँ विनियोजित गरेको कार्यालयले यस पटक उक्त रकमलाई बढाएर १५ लाख पुर्याएको छ । गएको आर्थिक वर्ष ०८१–०८२ मा गोरखा नगरपालिका–१४ को बुढीकोकी दुग्ध उत्पादन सहकारी संस्थाले मात्र आवेदन दिएको पनि उहाँले बताउनु भयो ।
तर यस पटक भने सिरान चोक र पालुङ टार नगरपालिकाले पनि किसानहरूलाई सङ्गठित पारेर सहकारी संस्था स्थापना गर्ने काम भइरहेकाले अनेत्रका किसानहरूले पनि अनुदानको रकम पाउने देखिएको डा.कोइरालाले बताउनु भयो।
पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्पादनमा आधारित प्रोत्साहन सहयोग नाम दिएको उक्त अनुदान यो वर्ष ३ लाख लिटर दूधलाई अनुदान दिन लागेको हो ।
किसानले पाउने रकम सहकारी मार्फत प्रदान गरिने पनि डा.कोइरालाले बताउनु भयो।
। ‘हामीले किसानले पाउने रकम सहकारीमा जम्मा गरिदिन्छौ’ उनले भने ‘सहरकारीले किसानले दूध सङ्कलन गरेको आधारमा रकम वितरण गर्छ ।’
कार्य विधि अनुसार किसानले सहकारीमा दूध संलकन गरेको प्रमाण कार्यालयलाई उपलब्ध गराउनु पर्ने र सोही अनुसार मात्र सहकारीलाई रकम प्रदान गरिने छ ।
सोही कार्य विधि अनुसार सहकारीले दैनिक २०० लिटर दूधको कारोबार गरेको हुनुपर्ने छ । त्यस्ता सहकारीले मात्र आवेदन माग गरेको अवस्थामा आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्