हरितालिका तीज :आज महिलाहरूले व्रत उपवास गर्दै

पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ – पार्वती र शिवको प्रेमकथामा आधारित भै आज महिलाहरूले तीजको व्रत उपवास गर्दैछन् । आज भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु महिलाहरूको घचारो छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताउनुभयो । निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत गर्न सकिने भएकोले भोकै बस्न नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने उहाँले उल्लेख गर्नुभयो । आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने उहाँले सुझाउ दिनुभयो ।

यसैबीच मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ । चौठचन्द्र पर्वमा महिलाले आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्ने गर्छन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.