वीरगन्जमा हैजा नियन्त्रणका लागि बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने निजी अस्पतालहरूको प्रतिबद्धता

 वीरगन्ज — पर्सा जिल्लामा फैलिँदो हैजा नियन्त्रणका लागि वीरगन्जका निजी अस्पतालहरूले आवश्यकता अनुसार बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज महानगरमा सोमबार साँझ बसेको विशेष छलफलका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन ९ध्ज्इ०, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरूबिच यस्तो सहमति बनेको हो।

महानगर प्रमुख राजेशमान सिंहले महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज र शीघ्र उपचार उपलब्ध गराउन आग्रह गर्नुभयो। उहाँले सम्भव भएसम्म निःशुल्क सेवा उपलब्ध गराउन सकिए हैजाग्रस्त बिरामीहरूको पीडा कम हुने उल्लेख गर्नुभयो।

छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमति गरिएको छ।

नारायणी अस्पतालका मेसु डा। चुमनलाल दासले विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनअनुसार उपचार पद्धति अपनाए हैजा नियन्त्रण सहज हुने बताउनुभयो। त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने उल्लेख गर्दै, अनावश्यक रूपमा बिरामीलाई आइसियुमा राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोक्न चेतावनी दिनुभयो। उहाँले औषधि आपूर्ति र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य विज्ञहरूले हाल हैजाका बिरामीहरूको सङ्ख्या क्रमशः घट्दो अवस्थामा रहेको भए पनि सबै पक्षको हातेमालो र सहकार्यबाट मात्र महामारी नियन्त्रण सम्भव हुने बताएका छन्।

यसैबिच, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सङ्क्रमणको स्रोत दुई दिनभित्र पत्ता लगाउने गरी नमुना सङ्कलन, स्थलगत निरीक्षणलगायतका काम भइरहेको जानकारी दिनुभयो। प्रारम्भिक अध्ययनले यो सङ्क्रमण प्रदूषित पानीमार्फत फैलिएको सङ्केत गरेको भए पनि वास्तविक स्रोतबारे अझै पुष्टि नभएको र आवश्यक तथ्याङ्क सङ्कलनपछि स्पष्ट हुने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.