गृहिणी महिलाहरूले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न बेथान चोकमा कोसेली घर स्थापना

काभ्रे – काभ्रेको बेथान चोक गाउँपालिकाले कोसेली घर स्थापना गरेको छ । बेथान चोकका गृहिणी महिलाहरूले उत्पादन गरेको सामाग्रीको बजारीकरण गर्न कोसेली घर स्थापना गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा बेथान चोक गाउँपालिकाको वडा नं २ स्थित ढुंखर्कमा कोसेली घरको स्थापना गरिएको हो । उक्त कोसेली घरको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादले गर्नुभयो ।
कोसेली घरको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले कोसेली घर स्थापनाले यहाँका उत्पादनको बजारीकरणमा मद्दत पुग्ने बताउनुभयो । उहाँका अनुसार, यस प्रकारको कार्यक्रम प्रवर्द्धन गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।
बेथान चोक गाउँपालिका र प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारीमा पालिकाको ६ वटा वडाका महिलाहरूलाई विभिन्न समयमा सीपमूलक तालिम प्रदान गरिएको र तालिमपश्चात् उत्पादन गरिएको सामाग्रीको बजारीकरण गर्न पालिका र प्रदेशको साझेदारीमा कोसेली घर स्थापना गरिएको बेथान चोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा पालिकाले वडा नं १ देखि वडा नं ६ मा विभिन्न समयमा पालिकाका गृहिणी तथा उद्यमी महिलाहरूलाई तालिम प्रदान गरिएको बेथानचोक गाउँपालिकाको लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता अम्बिका खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, पालिकाको ६ वटा वडाबाट सहभागी भएका करिब ११० जना गृहिणी महिलाहरू व्यावसायिक रूपमा काम गर्दै आएका पनि छन् ।






प्रतिक्रिया राख्नुहोस्