गोरखामा खानेपानीको मूल्य तत्काल नबढने

गोरखा – गोरखा बजारमा वितरण हुँदै आएको खानेपानीको मूल्य तत्काल नबढाउन खानेपानी तथा सरसफाइ बोर्ड गोरखाले निर्देशनात्मक आदेश गरेको छ ।
बोर्डले पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई केही दिन अगाडी पत्र पठाएर मूल्य वृद्धि प्रक्रिया स्थगित गर्न भनेको हो ।
बोर्डको भाद्र ५ गते बसेको बैठकले उपभोक्ता संस्थाले हालसालैदेखि लागु हुन गरी खानेपानीको महसुलमा वृद्धि गरेको बारेमा व्यापक छलफल पछि तत्कालकोलागि मूल्य नबढाउन निर्देशन दिने निर्णय भएको बोर्डका कार्यकारी अधिकृत बिराज अर्यालले बताउनु भयो ।
‘पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खाने पानीमा मूल्य वृद्धि गराएको बारेमा छलफल भयो’ उनले भने ‘उपभोक्ताहरूको पनि गुनासो आयपछि महसुल वृद्धि प्रक्रिया स्थगित गर्न पत्राचार गरेका हौ ।’
बोर्डका कार्यकारी अधिकृत अर्यालले हस्ताक्षर गरेर पठाएको पत्रमा ‘उपभोक्ता समितिले हालसालै खानेपानी महसुल वृद्धि गरेको भन्ने सूचना प्राप्त भएको तथा उपभोक्ताहरूको समेत व्यापक जनगुनासो आएकोले खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड, गोरखाको मिति २०८२–०५–०५ गतेको बैठकबाट खानेपानी महसुल वृद्धि स्थगन गर्ने निर्णय भए बमोजिम तत्काललाई महसुल वृद्धि स्थगन गर्न निर्देशन गर्दछु’ भन्नु भएको छ ।
यता पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक सुशील अर्यालले खानेपानी तथा सरसफाइ बोर्डले हिजो आइतबार पत्राचार गरी शुल्क नबढाउन भनेको बताउनु भयो ।
उनका अनुसार बोर्डको पत्र प्राप्त भएकोले केही दिनभित्रै उपभोक्ता संस्थाको बैठक राखेर बढेको मूल्यलाई स्थगन गर्ने तयारी भइरहेको छ ।
०७१ साल देखी लागु गर्दै आएको मूल्यलाई परिमार्जन गरेर शुल्क बढाएको थियो । संस्थाले गएको असार १५ गते बैठक बसेर भाद्र १ गते देखी लानुहुने गरी बढाएको उक्त शुल्क अनुसार ६ युनिटसम्म न्यूनतम ३०० रुपैयाँ, ७ देखी १० सम्म ३५० बाट ४५० रुपैयाँ पुर्याएको छ ।
त्यस्तै गरी, ११ देखी २० सम्म साबिकको प्रति युनिट ७० रुपैयाँबाट बढाएर ८० रुपैयाँ, २० देखी ३० सम्म १२५ बाट बढाएर १५० र ३० युनिटभन्दा माथीकालाई प्रति युनिट १७५ बाट बढाएर २०० रुपैयाँ पुर्याएको थियो ।
नगर विकास कोष सँग ऋण तिर्न गारो भएपछि उपभोक्ता मार्फत उठाएर तिर्न लागेको संस्थाका एक सदस्यले बताउनु भयो । ।
गोरखा नगरपालिका ६, ७ र ८ नम्बर वडामा बसोबास गर्ने १ हजार ४१० घरका उपभोक्तालाई संस्थाले खानेपानी दिँदै आएको छ ।
दैनिक करिब ८ लाख लिटर वितरण गरेको संस्थामा १२ देखी १४ लाख लिटरसम्म पानीको माग हुँदै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्