एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता सम्पन्न गरिएको हो ।
सम्झौताअनुसार १०३ नेक्स्ट–जेनेरेसन बोइङ विमानका लागि ३६ अर्ब २० करोड डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ स्पेयर इन्जिनका लागि ६९ करोड डलर र जीई एरोस्पेससँग २० वर्षे इन्जिन मर्मत सेवा सम्झौताका लागि १३ अर्ब डलर विनियोजन गरिएको छ ।
कोरियन एयरले विज्ञप्तिमा भनेको छ, “यो सम्झौता अमेरिकी उड्डयन उद्योगसँग हाम्रो साझेदारीलाई अझ बलियो बनाउन गरिएको रणनीतिक निर्णय हो । अमेरिकी बजारमा गरिएको यो लगानीले एयरलाइनको परिचालन क्षमता र विश्वव्यापी प्रतिस्पर्धा बढाउनेछ, साथै दीर्घकालीन व्यावसायिक सम्बन्धलाई सुदृढ गर्दै दिगो विकासलाई प्रोत्साहित गर्नेछ ।”
खरिद अर्डरमा २० बोइङ ७७७–९, २५ बोइङ ७८७–१०, ५० बोइङ ७३७–१० र आठ बोइङ ७७७–८एफ मालवाहक विमान समावेश छन् । यी सबै विमान सन् २०३० को अन्त्यसम्म चरणबद्ध रूपमा डेलिभरी हुने तय गरिएको छ ।
हस्ताक्षर समारोहमा कोरियन एयर र हन्जिन समूहका अध्यक्ष तथा सिइओ वाल्टर चो, बोइङ कमर्सियल एयरप्लेनकी अध्यक्ष तथा सिइओ स्टेफनी पोप र जीई एरोस्पेसका कमर्सियल इन्जिन तथा सेवा विभागका अध्यक्ष तथा सिइओ रसेल स्टोक्स सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.