दुई सातामा फुटाइयो भीमकाय ढुङ्गो
–दैनिक १० जनाको टोलीद्वारा ढुङ्गा व्यवस्थापन

नुवाकोट- नुवाकोटको उत्तरी भेगमा रहेको बाह्रबिसेमा मानव बस्तीमाथिको ठुलो ढुङ्गो निरन्तर झरिरहेको कारण त्यसलाई दुई सातामा फुटाइएको छ । भीमकाय ढुङ्गो फुटाउन प्राविधिकसहित दैनिक १० जना परिचालन भएका थिए ।
निरन्तर गाउँतिर झरिरहेको उक्त भीमकाय ढुङ्गोका कारण तल रहेका मानव बस्ती झन्डै एक महिनादेखि निदाउन सकेका थिएनन् । मानवसहित बस्तीको सुरक्षाका लागि उक्त ढुङ्गो फुटाएर व्यवस्थापन गरिएको तादी गाँउपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।
तादी गाउँपालिका ४ बाह्रबिसे बस्ती माथिको चार सय ५० घन मिटरको उक्त विशाल ढुङ्गो बर्सातले निरन्तर सरिरहेको कारण कम्प्रेशर, ड्रिल मेशिनका साथै, जाली, तेल, डोरीलगायतका सात प्रकारका उपकरणसहितका सामान लिएर दैनिक रूपमा १० जनाको टोली निरन्तर खटिएर ढुङ्गो फुटाएको गाँउपालिका विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको गाँउपालिका अध्यक्ष तामाङले बताउनुभयो । उक्त ढुङ्गो १५ मिटर बस्तीतर्फ झरेको र अझै पनि झर्दै गरेको ढुंगाको व्यवस्थापनका लागि जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले तीन साता अगाडि स्थलगत अध्ययन गरेको थियो ।
उक्त समितिलाई पालिका बिपद् व्यवस्थापन समितिकाका अध्यक्ष तथा तादी गाँउपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा बसेको बैठकले ढुङ्गाको फुटाएर बस्ती सुरक्षित र ढुङ्गाको व्यवस्थापन गरी तलतिर रहेको मानव बस्ती सुरक्षित गर्ने निर्णय गरेको थियो ।
समितिका अध्यक्ष तथा प्रजिअ घिमिरेको समन्वयमा त्रिशूली थ्रिवि जलविद्युत आयोजनाबाट विशेष उपकरणसहितको टोलीले ढुङ्गा चट्टान फुटाउने काम मङ्गलवार सम्पन्न भएको तादी गाँउपालिका कार्यालय खरानीटारले जनाएको छ । विशेष मेशिन उपकरण र खटिएका जनशक्तिले गत साउन २८ गतेदेखि उक्त ढुङ्गा फुटाउने कार्य सुरु गरेकोमा दुई सातामा सम्पन्न गरेका हुन् ।
गाउँपालिकाको खर्चमा उक्त ढुङ्गो फुटाएर व्यवस्थापन गर्न झन्डै २५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताउनुभयो । ढुङ्गो फुटाउने कार्य सकिएसंगै स्थानीयवासीले चैनको श्वास फेरेका छन् ।
समयमा जोखिम नियन्त्रण गरिएकोमा गाउँवासी निकै खुसी भएको वडाध्यक्ष अश्विनीकुमार पाण्डेले बताए । उहाँका अनुसार उक्त ढुङ्गोको मुनी स्थानीय सुरेन्द्र तिमिल्सिना, अमरबहादुर श्रेष्ठ, मीनबहादुर श्रेष्ठ, अमृतलाल श्रेष्ठ, रामहरि पण्डित, हेमा तामाङसहित आट घर जोखिममा परेको थियो ।
यसअघि, उक्त स्थलमा पुगेर जिल्ला विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण तथा अवलोकन गरेर ढुङ्गा फुटाउनु नै एक मात्र विकल्प रहेको ठहरसहित प्राविधिकसहितको टोलीले ढुङ्गा फुटाएर बस्ती सुरक्षित गरिएको गाँउपालिका अध्यक्ष सन्तमान तामाङको भनाई छ ।
बर्सातका कारण उक्त ढुङ्गो निरन्तर तल सरिरहेको थियो । फुटाउन थाल्नु भन्दा अगाडि पनि निरन्तर सरिरहेको थियो ।
मानव वस्तिदेखि दुई समय मिटर माथि रहेको उक्त ढुङ्गो सर्दै गरेको र वरिपरिका जमिनसमेत चिरा परेको कारण फुटाएर त्यसलाई व्यवस्थापन रु गरिएको गाँउपालिका कार्यालय खरानीटारले जनाएको छ । उक्त भीमकाय ढुङ्गोदेखि दुई सय मिटर तल मानव बस्ती रहेको छ ।
ढुङ्गो सर्दै गरेपछि स्थानीय आठ घर परिवार एक महिनादेखि तनावमा रहेका थिए । ढुङ्गो फुटाउनु अगाडि तल रहेका मानव बस्तीहरू निदाउनसमेत नपाएको गाँउपालिका अध्यक्ष तामाङले बताउनुभयो ।
स्थानीयवासीले ढुङ्गो झरिरहेका कारण तल रहेका घरका मानिसहरू आलोपालो गरेर राती पालो पहरा गर्ने गरेका थिए । उक्त भीमकाय ढुङ्गोदेखि तलको बस्ती जोखिमपूर्ण रहेका कारण फुटाएर व्यवस्थापन नगरेसम्म जोखिमपूर्ण घरमा नबस्न आग्रह गरिएको थियो ।
कतिपयले अस्थायी रूपमा ढुङ्गोदेखि सुरक्षित स्थानमा पुगेर रात कटाउनसमेत थालेका थिए । उक्त ढुङ्गो फुटाउने कार्यसमेत निकै जोखिमपूर्ण तरिकाले सम्पन्न गरिएको र आवतजावत गर्दासमेत सचेत रहन आग्रह गरिएको वडाध्यक्ष अस्विनकुमार पाण्डेको भनाई छ ।
ढुङ्गाले मानव बस्ती, जलविद्युत आयोजना, सिँचाइ र सडक मार्गलाई जोखिखमा पारेको थियो । दुई साता लगाएर भीमकाय ढुङ्गो फुटाएपछि सबै स्थान सुरक्षित भएको प्रजिअ शशिधर घिमिरेले बताउनुभयो ।
वर्खाको समयमा आम सर्वसाधारणलाई निकै सचेत हुने आग्रह गरिएको पाण्डेले बताउनुभयो । तादी नुवाकोटको पर्यटकीय स्थान हो ।






प्रतिक्रिया राख्नुहोस्