हाललाई अनिवार्य नभएपनि क्रमश: इम्बोस्ड नम्बर प्लेट राख्दै जानुपर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सवारी साधनमा असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्थालाई पुनर्विचार गरेको छ । इम्बोस्ड नम्बर जडान गर्दै जाने तर नराख्नेहरुलाई तत्काल जरिबाना नगरिने सूचनापछि पनि इम्बोस्ड प्लेट जडान गर्ने निर्णयको विरोध चाँही रोकिएको छैन ।

यातायात व्यवस्था विभागले असोज १ गतेदेखि नामसारी, दर्ता र नविकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सूचना प्रकाशित गरेपछि यसको विरोध शुरु भएको थियो । त्यसपछि विभागले विज्ञप्ति निकालेर इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नभएको तर विस्तारै जडान गर्दै जाने सूचना जारी गर्‍यो । साथै तत्काल जडान नगरेकोमा कुनै कारवाही जरीवाना नहुने पनि स्पष्ट पार्‍यो । तर दोस्रो सूचनापछि पनि यसको विरोध रोकिएको छैन ।

जडान शुल्क महँगो भएको र नागरिकको विवरण सुरक्षित नरहने भन्दै विरोध भएको छ । इम्बोस्ड नम्बरमा नेपाली अक्षरसमेत हुनुपर्ने अर्को विषय पनि उत्तिकै पेचिलो रुपमा उठेको छ ।

यता राष्ट्रिय उपोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन इम्बोस्ड नम्बर प्लेट शुरुवातदेखि नै विवादित रहेको र सरकारले लागत भन्दा दोब्वर मुल्य लिन खोजेकाले विरोध गर्नु परेको बताउनुहुन्छ ।

उता यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले विदेशी कम्पनिले नम्बर प्लेट निर्माण गरेपनि नागरिकको विवरणको भण्डारण विभागमा नै रहेकोले सुरक्षा खतरा नरहेको दावी गर्नुभयो ।

हाल नेपालमा १ लाख बढी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भैसकेको छ भने अहिले करिव ८ लाख नम्बर प्लेट जडानको तयारी अवस्थामा रहेको विभागले जनाएको छ ।

नेपालमा दुइपाङ्ग्रे र चारपाङ्ग्रे गरी करिव ४० लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने पनि विभागले जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.