बारामा थप एक जनामा हैजाको सङ्क्रमण

कलैया – बाराको प्रादेशिक अस्पताल कलैयामा थप एक जनामा हैजाको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएका उनी सिकिस्त बिरामी भएकोले विशेष उपचार कक्षमा उनको उपचार भइरहेको कलैया अस्पतालका डा. ओम प्रकाश कुश्वाहाले बताउनु भएको छ ।
हिजो साँझ शरीरको पानीको मात्र न्यून भएकोले सुकेको जस्तो देखिएका उनलाई तत्काल आइसियुमा राखेर उनको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । पखाला लागेर अस्पतालमा उपचाररत कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय एक पुरुषमा आरडिटि पोजेटिभ आएको हो । हिजो एकै दिन अस्पतालमा झाडा र पखाला लागेका १० जना बिरामी आएकामा अरूको हैजा नदेखिएको र सामान्य भएर घर गएको डा. कुश्वाहाले बताउनु भयो ।
यस अघि बुधवार मात्रै प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा सङ्क्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका –१८ पतौराका हुन् । ती पुरुष बिहीबार बेलुका ६ बजे डिस्चार्ज भएर गएका छन् ।
स्वास्थ्यकर्मीहरूले हैजाबाट जोगिन खानपानमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, सर सफाइमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । जिल्लामा हैजाको रोगी देखा पर्न थालेपछि बिहीबार प्रादेशिक अस्पतालका निमित्त प्रमुख डा.विप्लब सुबेदीको अध्यक्षतामा बसेको रेपिट रेस्पोन्स टिमको बैठकले आइसियुलाई हैजाको बिरामी मात्र राखेर उपचार गर्ने , सुबेदीकै अध्यक्षतामा सात सदस्यीय रेपिट रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको छ ।
बाराका स्थानीय निकायहरूले सूचना जारी गरी हैजाबाट सचेत हुन र हैजाको प्रकोप बारामा फैलन नदिन मासु पसल, अन्य पसलहरूमा सतर्कता अपनाउन र सरसफाइ राख्न निर्देशन दिएका छन् । हैजा तथा झाडापखालाको जोखिम बढेसँगै बाराको फेटा गाउँपालिकाले रोग नियन्त्रणका लागि जन चेतनामूलक अभियान थालेको छ । गाउँपालिकाले जनचेतना फैलाउन घर–घरमै पुगेर स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने अभियान थालेको गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले बताउनु भएको छ ।
व्यक्तिगत स्तरमा सुरक्षित खानेपानी प्रयोग गर्न, खाना खानुअघि र दिसापछि साबुन पानीले हात धुन, राम्ररी पकाएको खाना मात्र खान, पानीको भाँडा वा ट्याङ्की छोपेर राख्न तथा वरिपरि सफा राख्न आग्रह गर्नुभएको छ ।
सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गर्न, सामुदायिक तहमा जनचेतना फैलाउने अभियान अघि सारेको छ । यसका लागि स्वास्थ्यकर्मीरूलाई बस्ती–बस्तीमा परिचालन गरिएको छ । स्वास्थ्यकर्मीहरूले हैजासम्बन्धी जानकारी दिनुका साथै दूषित खाना–पानी नखान, फलफूल तथा तरकारी राम्ररी धुने सन्देश प्रवाह गरिरहेका छन् । गर्मी र वर्षा याममा हैजासहित झाडापखाला फैलिने सम्भावना उच्च हुने भएकाले गाउँपालिकाले युद्ध स्तरमा सचेतना अभियान सुरु गरेको बताइएको छ ।





प्रतिक्रिया राख्नुहोस्