घाँस काट्न गएका व्यक्तिको गैंडाको आक्रमणबाट मृत्यु

चितवन- भरतपुरको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका एक व्यक्तिको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ अन्दौली सुकुम्बासी टोलका ६५ वर्षीय खिमबहादुर सुनारलाई हिजो दिउँसो घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका सुनारको घटनास्थलमै मृत्यु भएको हो । धेरैजसो वन क्षेत्रमा घाँस काट्न जाने क्रममा जंगली जनावरले आक्रमण गर्ने गरेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेलबहादुर कुमाल-विशालले जानकारी दिनुभयो । यसअघि पनि सो क्षेत्रमा गैंडा तथा अन्य जंगली जनावरका आक्रमणबाट मानिसहरू घाइते भएका थिए ।
स्थानीयलाई आयआर्जन र रोजगारीका अवसर प्रदान गर्नसके वनक्षेत्रमा जानबाट रोक्न सकिने र मानव वन्यजन्तु द्वन्द्व कम हुने अध्यक्ष कुमालले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्