लाभग्राही बसेको ठाउँमा पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण गरिँदै

खोटाङ–  ऐसेलुखर्क गाउँपालिकाद्वारा राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालित एकीकृत सेवा शिविरमा ३२० जना सेवाग्राहीले सेवा लिएका छन् । काम विशेषले गाउँपालिका बाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरी गत साउन २७ र २८ गते काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा र यही भदौ १ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारी, वडाध्यक्षहरू र तीन जना वडासचिव शिविरमा खटिनुभएको छ ।
आफ्ना नागरिकलाई पञ्जीकरणसम्बन्धी सबै सेवा सहज रूपमा उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णयानुसार काठमाडौँ र इटहरीमा शिविरमार्फत सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । वर्षात्को समयमा आफू बसेकै ठाउँमा पुगेर गाउँपालिकाले सेवा प्रदान गरेपछि लाभग्राही हर्षित भएका छन् ।
केपिलासगढी गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित गोर्खाली फिटनेस सेन्टरमा यही भदौ १० र ११ गते दुईदिने शिविरमार्फत सेवा प्रदान गरेको थियो । शिविरमा ४३ महिला र ३८ जना पुरुषको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त शिविरमा ४३ जना सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै मालपोत कर सङ्कलन गरिएको छ । वडाबाट प्रदान गरिने सिफारिसलगायत सेवा काठमाडौँमा पाएपछि नागरिकले खुसी व्यक्त गरेका उहाँको भनाइ छ ।
रावाबेँसी गाउँपालिकाले यही भदौ ५ र ६ गते सामाजिक सुरक्षाभत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ । शिविरमा तीन सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको पालिकाका पञ्जीकरण शाखाका प्रमुख गिरिराज रानामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक सय ७४ को सामाजिक सुरक्षाभत्ता नवीकरण, ८१ को राष्ट्रिय परिचयपत्र वितरण, १३ को जन्मदर्ता, तीनको मृत्युदर्ता, नौ जोडीको विवाह दर्ता, दुई जोडीको सम्बन्धविच्छेद, नौ जनाको बसाइँसराइ, पाँच जनाको नागरिकताको सिफारिस, ३८ जनाको सामान्य सिफारिस, एक नाबालकको परिचयपत्र र बाँकीको सामाजिक सुरक्षाभत्ताका लागि नयाँ दर्ता गरिएको छ ।
शिविरमा गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ, वडाध्यक्षहरू ज्ञानबहादुर पाण्डे, गेहेन्द्रमान राई, वीरेन्द्र मगर, मनकुमार गुरुङ र चिरञ्जीवी कार्की खटिनुभएको थियो ।
गाउँपालिकाले यही भदौ १४ र १५ गते पूर्वी तराईमा बसोबास गर्ने लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकाको सभाहलमा दुईदिने शिविरको आयोजना गरेको हो । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर सेवाग्राही बसिरहेको ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविर आयोजना गरिएको पालिका कार्यालयले जनाएको छ ।
जिल्लाको सबैभन्दा बढी सेवाग्राही रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँको सिनामङ्गलस्थित होटल जन्मभूमिमा बुधबारदेखि चारदिने शिविर आयोजना गरिरहेको छ । काठमाडौँमा सञ्चालित शिविरमा वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई र वडा नं १४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राईको समन्वयमा शिविर आयोजना गरिएको हो ।
सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही लक्षित गरी उहाँहरू बसिरहेकै ठाउँमा सेवा प्रदान गर्न शिविर आयोजना गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो । उहाँका अनुसार तराईमा रहेका लाभग्राहीका लागि इटहरी उपमहानगरपालिकामा शिविर आयोजना गरिएको हो ।
इटहरीमा यही भदौ १६ देखि १९ गतेसम्म सञ्चालन गरिने शिविरमा वडा नं ९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायत र वडा नं ५ लफ्याङका वडाध्यक्ष एवं नगरप्रवक्ता घिमिरेले समन्वय गर्नुहुने छ । काठमाडौँमा आयोजित शिविरबाट हालसम्म दुई सय ७८ जना लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका ‘फिल्ड’ सहायक गम्भीर खत्रीले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका करिब छ सयभन्दा बढी लाभग्राही काठमाडौँमा रहेकाले चार दिनसम्म शिविर जारी राख्ने निर्णय गरिएको नगर कार्यालयले जनाएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा काठमाडौँमा सुरु गरिएको शिविरमा लाभग्राहीहरू आफन्तको सहारा लिएर सेवा लिन गइरहेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले पनि यही भदौभित्र शिविर सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कामविशेषले काठमाडौँ, पूर्वी तराई तथा दक्षिणी क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिनुभयो ।
यही भदौ १६ र १७ गते इटहरीस्थित दुर्गा पाटीप्यालेस ब्याङ्क्वेट इटहरी, भदौ १९ र २० गते उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित सिटीहलमा र भदौ २४ र २५ गते काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । शिविर सञ्चालनका लागि आवश्यक उपकरण तथा कर्मचारीसहित जनप्रतिनिधिहरू काठमाडौँ र पूर्वी तराई पुगेका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य पालिकाले समेत आ–आफ्ना पालिकाका लाभग्राही खोजी गरेर सामाजिक सुरक्षाभत्ता नवीकरणको काम गरिरहेका छन् । सङ्घीय सरकारले जारी गरेको ‘सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधि, २०८२’ मा उल्लेख भएको व्यवस्थाअनुसार हरेक लाभग्राहीको ‘बायोम्याट्रिक भेरिफिकेसन’सहित प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था लागू भएपछि स्थानीय तहले लाभग्राही खोजी गरी नवीकरणको काम सुरु गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.