नागरिक खोज्दै स्थानीय सरकार

 मकवानपुर –  पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबा वडा देखी टाढा बसाइँ सरेका आफ्ना नागरिक खोज्दै चितवन र मनहरीसम्म पुग्नु भएको छ ।

आर्थिक वर्षको शुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष वाइवा गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुग्नुभएको हो ।

वडा बाहिर रहेका आफ्ना नागरिकको बसोबास स्थानमै कर्मचारीसहित पुगेर वडाध्यक्ष वाइबाले अशक्त, अपांग तथा ज्यष्ठ नागरिकहरूको विवरण अद्यावधिक गरिरहनु भएको छ ।

राक्सिराङ गाउँपालिकाका वासिन्दा बसार्ईं सरेर नजिकैको मनहरी र सीमा जिल्ला चितवनको राप्ती नगरपालिकासम्म पुगेका छन् । विकट गाउँको बस्तीबाट शहरमा बसोबास गरे पनि उनीहरुको मतदाता अधिकार पुरानै वडामा रहेको छ । “वडाका केही मानिस चितवनतिर, केही मनहरीतिर बस्छन् ।  गाउँ आउन बाढी, खोला र बाटोको समस्या हुँदा उनीहरूलाई वडासम्म आउन गाह्रो हुन्छ।

त्यसैले हामी नै उनीहरूको घरमै पुगेका हौँ,” वडाध्यक्ष वाइबाले भन्नुभयो । ‘यसो गर्दा गाउँबस्तीमा वासिन्दासँग सम्बन्ध पनि नवीकरण हुन्छ, पछि भत्ता वितरणमा समस्या पनि हुँदैन र हजारौँ खर्च गरेर वडामा पुग्नपर्ने झन्झट पनि टर्छ  ।

उहँको यो कदमलाई स्थानीयले निकै प्रशंसा गरेका छन् ।

घरमै स्थानीय सरकार पुगेपछि जेष्ठ नागरिक निकै खुसी हुनुका साथै आशीर्वाद समेत दिएका छ्न । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले  भौगोलिक हिसाबले आउजाउमा कठिन हुने जेष्ठ नागरिक र अशक्तलाई घरमै गएर सेवा दिने काम प्रभावकारी भएको बताउनुभयो ।

बुधबारदेखि सुरु भएको अभियान आइतबारसम्म जारी रहने वडा अध्यक्ष वाइवाले बताउनुभयो ।  यस अवधिमा कम्तीमा ५० जना जेष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर सेवा दिने योजना रहेको छ । राक्सिराङको केही वडा हेटौँडा र मनहरी बजारसँग जोडिएको छ भने केही वडामा जान चितवनको राप्ती नगरपालिका हुँदै जानुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.