युवामा सकारात्मक सोच आवश्यक छ: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

तनहुँ-  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवामा सकारात्मक सोच हुन आवश्यक रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा शनिवारबाट सुरु भएको नेपाल जेसीज क्षेत्र ख सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो भनाई व्यक्त गर्नुभएको हो ।

पछिल्लो समय युवामा केही गर्छु भन्ने आत्मविश्वासमा कमी देखिएकोले जेसितले युवामा आशाको किरण जगाउन सक्नुपर्ने बताउनुभयो । युवामा नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति रहेको र यसलाई अन्त्य गर्नुपर्ने  मुख्यमन्त्री पाण्डेको भनाई छ । स्वदेश तथा विदेशमा बसेर मानिसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताउँदै उहाँले देश बनाउन निर्वाचन जितेर राजनीतिमा हस्तक्षेप गर्न समेत चुनौती दिनुभयो । स्वतन्त्र र विधिको शासनको पक्षमा जेसिज रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले नेपालमै केही गर्न सकिन्छ भनेर अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

नेपाल जेसिज कार्यकारिणी उपाध्यक्ष एलिना महर्जनको अध्यक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने, जिल्ला स्थित विभिन्न पार्टीका प्रतिनिधि लगायतले कार्यक्रममा भनाई राख्नुभएको थियो ।
नेपाल जेसीज क्षेत्र ख सम्मेलन आइतबारसम्म चल्नेछ । नेपाल जेसीज क्षेत्र ख अन्तर्गत ४२ शाखाका प्रतिनिधिहरू, विभिन्न शाखाका पदाधिकारीहरू, सदस्यहरू, राष्ट्रिय पदाधिकारी तथा पर्यवेक्षक लगायत अतिथि गरी ८ सय जनाको सहभागिता रहेको सम्मेलनका निर्देशक सुरेश पुरीले जानकारी दिनुभयो । कार्यक्रमले वेद व्यासको जन्मस्थल दमौली सहित जिल्लाको पर्यटकीय प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.