तनहुँमा पूर्ण अशक्त अपाङ्गता भएकी सविना पन्थलाई घरमै पुगेर नागरिकता प्रदान

तनहुँ- तनहुँको व्यास नगरपालिका–११ निवासी २७ बर्सिया सविना पन्थलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
पूर्ण अशक्त अपाङ्गता रहनुभएकी सविनालाई तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उहाँको घरमा पुगेर नागरिकता हस्तान्तरण गर्नुभएको हो । सविनाका बुवा मिनानाथ पन्थ र आमा पवित्रादेवी पन्थ तथा प्रशासनका कर्मचारीहरूको उपस्थितमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको तनहुँका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । आफ्नो घरमै आएर प्रशासनले नागरिकता प्रदान गरेपछि अपाङ्गता भएका व्यक्तिप्रति तनहुँ प्रशासनले गरेको काम महत्त्वपूर्ण भएको पन्थका पिता मिनानाथले बताउनुभयो ।
प्रजिअ अधिकारीले घरमै पुगेर सेवा दिने अभ्यासलाई निरन्तरता दिने बताउनुभयो । विगतमा पनि पूर्ण रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ अधिकारीको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्