गुल्मी अस्पतालमा प्रसूति सेवा लिने बढे

गुल्मी – गुल्मी अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्यामा पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कका आधारमा उल्लेखनीय वृद्धि देखिएको छ । अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ६५१ जना, आर्थिक वर्ष २०८०÷०८१ मा ४०७ जना महिलाले प्रसूति सेवा लिएका थिए ।
हालै सम्पन्न आर्थिक वर्ष २०८१÷०८२ मा यो सङ्ख्या बढेर ७१४ पुगेको अस्पतालका सूचना अधिकारी तथा बाल रोग विशेषज्ञ डा.प्रज्ञा शाख्यले बताउनुभयो । यसरी प्रसूति सेवामा वृद्धि हुनुमा मातृ स्वास्थ्यप्रति जनचेतना र सरकारी अस्पतालप्रति बढ्दो विश्वासको सकारात्मक सङ्केत मानिएको छ ।
गुल्मी अस्पतालका अनुसार प्रसूति सेवामा यस्तो ठुलो वृद्धि पछिल्लो केही वर्ष यता पहिलो पटक देखिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विभव बस्यालका अनुसार सेवा विस्तार, दक्ष जनशक्ति, औषधि तथा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कारण यस्तो वृद्धि सम्भव भएको बताउनुभयो ।
प्रसूतिका लागि अस्पतालमा आउने महिलाको सङ्ख्या बढ्नुको अर्थ सरकारी स्वास्थ्य संस्थाप्रति जनताको विश्वास पनि बढ्दै गएको देखिन्छ । अघिल्ला वर्षहरूमा निजी क्लिनिक वा घरमै प्रसूति गराउने प्रवृत्ति देखिँदै आएकोमा हाल सार्वजनिक अस्पतालमै सुरक्षित सेवा लिनेको सङ्ख्या बढ्न थालेको हो ।
संघीय र प्रदेश सरकारको मातृ स्वास्थ्य सुधार कार्यक्रम, निःशुल्क प्रसूति सेवा, सुरक्षित मातृत्व कार्यक्रम लगायतका योजनाले पनि सेवा लिनेको सङ्ख्या बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन् । गर्भवती महिलालाई आवश्यक सल्लाह, नियमित चेकजाँच, पोषण कार्यक्रम, आइरन र खोप जस्ता कुरामा सक्रियता देखिएको छ ।
गुल्मी अस्पतालमा अहिले सुत्केरी कक्ष, प्रसूति पूर्व सल्लाह सेवा, निःशुल्क प्रसव तथा नवजात शिशु हेरचाह सेवा उपलब्ध छन् । साथै आकस्मिक सिजेरियन सेवा समेत प्रदान गरिँदै आएको अस्पतालका सूचना अधिकारी शाक्यले बताउनुभयो ।
हाल सेवा विस्तारसँगै अस्पतालले आगामी वर्षहरूमा मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्य लिएको छ । प्रसूतिका क्रममा हुने जोखिम घटाउनका लागि हाल प्रसूति विशेषज्ञ डा।सोफिया भलामी, बाल रोग विशेषज्ञ डा.प्रज्ञा शाक्य, एमडिजिपी डा.अजुन केसी लगायतका टिमका डक्टरहरूले गरेको प्रयासका कारण प्रसूति सेवामा उल्लेख्य सुधार हुँदै आएको अस्पतालले जनाएको छ ।
गुल्मी अस्पतालमा प्रसूति सेवामा भएको उल्लेखनीय वृद्धिले मातृ स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको पुष्टि गरेको स्थानीयको भनाइ छ ।
न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल अब्बल
स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा अब्बल भएको । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ ।
आर्थिक वर्ष ०८१÷०८२ सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल अब्बल साबित भएको हो । अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङकन गर्दा विगतमा भन्दा थप उपलब्धि पाइएको थियो ।
गत वर्षको मूल्याङ्कनमा पनि गुल्मी अस्पताल ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो । तर यश वर्ष ९१ प्रतिशत अङ्क ल्याएको छ ।
यसरी अस्पतालले सेवा प्रवाहलाई थप स्तरीय बनाउन तर्फ लागेको सङ्केत प्राप्त मुल्याङकनको नतिजाले उल्लेख गरेको छ । गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कार्यालय प्रमुख विभव बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफूले दिने सेवामा के कमजोरी छ र कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी पाउँदा अस्पतालको सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।
अस्पतालको भौतिक संरचनाको अभावले गर्दा उत्कृष्ट सेवा प्रवाहमा समस्या रहेको बस्यालले बताउनुभयो । उहाँले अब गुल्मी अस्पताललाई थप उचाईमा पुर्याउनका लागि मुख्य गरी भौतिक संरचनाको कमी रहेको उहाँको भनाइ छ ।
निर्माणाधीन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाहमा थप सहज हुने सहभागीको जोड छ । गुल्मी अस्पतालमा हाड जोर्नी, गाइनोलोजिष्ट, हेमो डायलिसिस सेवा लगायतका विशेष डक्टरहरू सहितका सेवा बिस्तार भएका छन् ।
यसले अस्पताल प्रति नागरिकको भरोसा बढाउँदै लगेको छ । भौतिक संरचना अभावका बिचमा पनि अस्पताल अब्बल साबित हुँदै आएको छ ।
भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साँघुरो कोठाहरूबाट पनि विशेषज्ञ सेवा भने दिँदै आएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्याले बताउनुभयो ।
०७१ सालमा ५० शैययामा स्तर वृद्धि भएको थियो । तर भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।
आइसियु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरी ५ तलाको नयाँ भवन बन्दै छ । गुल्मी अस्पतालमा अहिले प्रसूति र हाड जोर्नी विशेषज्ञ सेवा बिस्तारले सयौँ बिरामीहरूले सहजरुपमा सेवा लिन पाएका छन् ।
अस्पताल भवनको भौतिक प्रगति ९० प्रतिशत बढी
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशत भन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको निर्माण व्यवसायीका सब इन्जिनियर अरविन्द्र चौधरीले बताउनुभयो ।
भवनको अहिले पेन्टिङ ,वायरिङ,आल्मुनियम लगाउनेलगायतका काम भइरहेका छन् । पहिले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य भए पनि दसैँसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । साढे पाँच तलाको भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानियाँ जे।भी हेटौडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो ।






प्रतिक्रिया राख्नुहोस्