हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्वर्गीय पत्रकार रजकलाई

काठमाडौँ- नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्दै आइरहेको हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यस वर्ष एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरिएको छ ।
पुरस्कार छनोट समितिको हिजाे बसेको बैठकले समाचार सङ्कलनकै क्रममा मारिएका कर्तव्यनिष्ठ पत्रकार सुरेशको सम्मानमा पुरस्कार दिने निर्णय गरेको हो । विज्ञका रुपमा वरिष्ठ पत्रकार तथा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख डा कुन्दन अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल टेलिभिजन समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेल सम्मिलित पुरस्कार छनोट समितिले जिम्मेवारी निर्वाह गर्दागर्दै मृत्युवरण गर्नुपर्दा जस्तो जोखिम अर्को हुन नसक्ने निष्कर्ष सहित स्वर्गीय सुरेश रजकलाई पुरस्कार समर्पण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
गत २०८० चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा त्यहि भएको आगजनीमा परेर सुरेशको निधन भएको थियो । सुरेशले यसअघि २०७९ सालमा पनि यो पुरस्कार प्राप्त गर्नुभएको थियाे ।
नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख रुपैंया राशीको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिंदै आएको छ । पुरस्कार हरेक वर्ष असोज ७ गते विशेष कार्यक्रमबीच प्रदान गरिदै आएको छ ।
विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासंघ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।
उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको थियो।







प्रतिक्रिया राख्नुहोस्